दशैंको समयमा देशका मुख्य शहरहरुमा केही दिनका लागि सुपथ मूल्य पसल खुल्ने गर्दछ । दशैंको समयमा सर्वसाधारण उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यस्ता पसल सञ्चालनमा ल्याइन्छ । दैनिक आवश्यकताका वस्तु तथा सेवा प्रचलित बजार मूल्यभन्दा केही कम मूल्यमा बिक्रीका लागि राखिन्छन् भने त्यसलाई सुपथ मूल्य पसल भन्ने गरिन्छ । चाडपर्वको समयमा सरकार तथा व्यावसायिक संघसंस्थाले सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको पाइन्छ । यस्ता पसलमा प्रचलित बजार मूल्यभन्दा केही न केही कममा वस्तु खरिद गर्न पाइन्छ । खुला बजारमा भन्दा सस्तोमा वस्तु पाइने भएकाले एकै व्यक्तिले धेरै परिमाणमा खरिद नगरोस् र धेरैले लाभ लिन सकोस् भनेर कतिपय सुपथ मूल्य पसलमा सीमित परिमाणमा मात्र वस्तु खरिद गर्न पाइन्छ ।
यस वर्षको दशैंको अवसरमा सरकारले काठमाडौं उपत्यकालगायत देशका केही शहरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि हेटौंडा औद्योगिक क्षेत्रमा दशैंलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । यस वर्ष व्यवसायीहरुको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघले समेत दशैंको अवसरमा केही दिनका लागि सुपथ मूल्य बजार सुरु गरेको हो । घटस्थापनाको भोलिपल्टबाट सुरु भएको बजार ५ दिनसम्म सञ्चालन हुने बताइएको छ । मकवानपुर उद्योग वाणिज्य संघकै स्वामित्वमा रहेको पल्पसा सदनमा स्टलहरु राखेर दैनिक उपभोग्य सामग्री बजार मूल्यभन्दा केही छुटमा बिक्री गर्नेगरी सुपथ मूल्य बजार सञ्चालन गरिएको हो ।
दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड हो । दशैंको बेलामा विभिन्न प्रकारका खाद्यान्नसँगै फलफूल, माछामासु, पेयपदार्थ, कपडा, जुत्ता, फर्निचर, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री, भाँडाकुँडा तथा अन्य घरायसी सामग्रीको कारोबार बढी हुने गर्दछ । दशैं सुरु हुनु अघिदेखि नै गाउँ शहर जताततै किनमेल गर्नेको भिड लाग्ने गर्दछ । बजारमा उपभोक्ताको भिड बढ्ने कारणले व्यवसायीबाट उपभोक्ता ठगिने र कालोबजारी बढी हुने सम्भावना पनि दशैंको समयमा बढी हुने गर्दछ । उपभोक्तालाई सहज बनाउन र केही सहुलियत दिनका लागि सुपथ मूल्य पसलभन्दा सबै प्रकारका सामग्रीहरु बिक्री गर्नेगरी बजार नै सञ्चालन गर्दा प्रभावकारी हुने गर्दछ ।
दशैंको मुखमा जेनजी आन्दोलनका कारण देशमा ठूलो जनधनको क्षति भएको अवस्थामा संघले सुपथ मूल्य बजार सञ्चालनमा ल्याउनु स्वागतयोग्य छ । मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघको संयोजनमा सञ्चालन गरिएको सुपथ मूल्य बजारमा १६ वटा स्टल राखेर चिनी, नुन, तेल, साबुन, सर्फ, चिउरा, फुरनदाना, दालमोठ, भुजिया, जिरा, धनियाँ, मसला, चियापत्ती, पिठोजस्ता दैनिक उपभोग्य वस्तुहरु राखिएका छन् । बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने बजारमा दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनका सामग्रीहरुसमेत बिक्री गरिने बताइएको छ । दशैंमा ग्रामीण क्षेत्रका सर्वसाधारणसमेत किनमेलका लागि शहरी क्षेत्रमा आउने हुनाले यस्तो सुपथ मूल्य बजार सबै व्यावसायिक संस्थाहरुले सञ्चालन गर्नु उचित हुनेछ ।











