नेपालमा हरेक वर्ष राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउँदै आइरहेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ लाई प्रमाणीकरण गरेको दिनलाई आधार मानेर मन्त्रीपरिषद्को निर्णयको आधारमा हरेक वर्षको असोज २ गतेका दिन राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको हो ।

यस दिवसका बारेमा ऐतिहासिक पृष्ठभूमि केलाउने हो भने राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गते मनाउन थालिएको थियो । नेपालमा गणतन्त्रको स्थापना पछिको समयदेखि शिक्षा दिवसलाई अन्तर्राष्ट्रिय साक्षरता दिवस (८ सेप्टेम्बर) सँग नजिक हुनेगरी मनाउने पनि गरिन्थ्यो । शिक्षा दिवस मनाउने दिनको अन्योलताको अवस्थामा मन्त्रिपरिषद्को निर्णयअनुसार असोज २ गतेलाई हरेक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय नेपाल सरकारले गरेको हो । तदअनुरुप नै नेपालले अब हरेक वर्षको असोज २ गते नै राष्ट्रिय शिक्षा दिवस मनाउने गरेको छ ।

शिक्षा जीवनको मेरुदण्ड हो जसले अज्ञानताको अन्धकार हटाउँदै मानिसलाई विवेकी र सचेत बनाउने कार्य गर्दछ । शिक्षामा राष्ट्रलाई सबल र समृद्ध बनाउँदै समाजलाई सभ्य र अनुशासित बनाउन सक्ने शक्ति रहेको हुन्छ । शिक्षाको उद्देश्य केवल किताबका अक्षर चिन्नु वा परीक्षामा उत्तीर्ण हुनु मात्र नभई मानिसलाई नैतिकवान बनाउनु, राष्ट्रप्रेमी बनाउनु र समाजलाई रुपान्तरण गर्नु नै हो भन्ने दिव्य सन्देश हामीले बिर्सनु हुँदैन । शिक्षाको पहिलो कार्य नै मानिसलाई नैतिकवान बनाउनु हो । नैतिकता भनेको असल र खराबलाई छुट्याउन सक्ने क्षमता हो । व्यक्तिलाई सही बाटोमा अगाडि बढ्न प्रेरित गर्ने तत्व नैतिक चेतना हो ।

नेपालजस्तो बहुसाँस्कृतिक, बहुधार्मिक एवम् विविधतायुक्त समाजमा शिक्षा नैतिकताको आधार बन्नु पर्दछ भन्ने आम धारणा रहेको छ । नेपालमा देखिएको भ्रष्टाचार, लापरबाही, घूसखोरी, हिंसा, नातावाद, कृपावाद र विभेद जस्ता सामाजिक विकृति शिक्षाको कमीका कारण देखिएका समस्या हुन् । यदि विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षाले केवल ज्ञानको बोझ मात्र दिएको, तर नैतिकताको शिक्षा दिन सकेन भने त्यो शिक्षा अधुरो हुन जान्छ । शिक्षाको पहिलो कर्तव्य मानिसलाई नैतिकवान बनाउनु हो भने हामीले संचालन गरिरहेको शिक्षाको पाठ्यक्रम र प्रणालीले के व्यक्तिलाई नैतिकवान बनाउन सक्छ ? अब यो विषयमा बहस संचालन हुन आवश्यक देखिन्छ ।

विद्यालयमा दिइने शिक्षाले बालबालिकामा राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने जिम्मवारी बोध गराइने हुनु पर्दछ । राष्ट्र केवल नक्सामा देखिने भूभाग मात्र होइन । राष्ट्र र राष्ट्रियता भनेको त नागरिकको सामूहिक चेतना, भाषा, संस्कृति, परम्परा र गौरवसँग गासिएको हुन्छ । यदि हामीले दिएको विद्यालय शिक्षा राष्ट्रप्रेम विहीन भएमा राष्ट्रियता कमजोर हुन्छ । तर जब शिक्षाले बालबालिकालाई आफ्नो इतिहास, संस्कार, वीरगाथा र धरोहरकाबारे अध्यापन गराउँदछ , तब ति अवोध बालबालिकाहरुमा देशप्रतिको अभिमान र जिम्मेवारीको भावना पलाउँदै आउँछ । राष्ट्रप्रेमी नागरिक बिना राष्ट्र सवल र सुरक्षित रहन सक्दैन । त्यसैले शिक्षा भन्नाले गणित, विज्ञान वा भाषा मात्र होइन, देशप्रतिको माया, कर्तव्य र जिम्मेवारी पनि सिकाउनुपर्छ ।

शिक्षित मानिस भनेको नैतिकवान, इमान्दार, सत्यनिष्ठ, परिश्रमी, सहयोगी र हरेक प्रति उत्तरदायी हुनु हो । उस्ले आफ्नो जीवनको साथसाथै समाजलाई पनि उज्यालो बनाउने सामथ्र्य राख्दछ । शिक्षाले जब मानिसलाई सदाचार सिकाउँछ, तब चोरी, भ्रष्टाचार, घूसखोरी, हिंसा र अन्य विकृतिहरू घट्दै जान्छन् । शिक्षित व्यक्तिमा सार्वजनिक सम्पत्तीको तोडफोड र आगजनी लगायत अन्य व्यक्तिको निजी सम्पत्तीमा नोक्सानी र चोरी गर्ने सोच नै पलाउँदैन । विद्यालयमा पढाइने किताब मात्र होइन, शिक्षकको आचरण, विद्यालयको वातावरण र समुदायको मूल्य–मान्यताले पनि बालबालिकाको चरित्र निर्माण हुन्छ । त्यसैले शिक्षाले मान्छेको बाहिरी ज्ञान मात्र बढाउने नभई उसको भित्री चेतनामा पनि नैतिकताको बीउ रोप्नु सक्नु पदर्छ । तसर्थ यसो हुन सक्यो भने मात्र हामीले संचालन गरिरहेको शैक्षिक प्रणाली र शिक्षामा गरिएको लगानी सही छ भनी मूल्यांकन गर्न सकिन्छ । शिक्षाको सरोकारवालाहरु एक ठाउँमा बसेर अब यसबारेमा सोच्नु पर्ने र हालसम्मको अवस्थाको सिंहावलोकन गर्ने बेला आएको छ ।

शिक्षाले समाजलाई सही रुपान्तरण गर्दछ । शिक्षा बिना समाज अन्धविश्वास, विभेद र असमानताको दलदलमा फस्दै जानेछ । सरकार र नागरिक समाजले शिक्षा विकासमा प्रशस्त कार्य गरेको कारणले नै नेपालमा लामो समयसम्म बालश्रम, बालविवाह, लैंगिक विभेद, छुवाछुत र अन्धविश्वासले समाजलाई पछाडि पारेकोमा शिक्षाको माध्यमबाट चेतना फैलिन थालेपछि मानिसले असमानता अस्वीकार गर्दै अधिकार र समानताको आवाज उठाउन थालेका थिए । जसको फलस्वरुप समाज क्रमशः मानवीय सभ्यताको बाटोमा हिँड्न थालेको देख्न सकिन्छ । शिक्षाले महिलालाई घरभित्र मात्र सीमित नराखी सार्वजनिक जीवनमा सक्रिय गराएको प्रसस्त उदाहरणहरु देख्न सकिन्छ । शिक्षाको माध्यमबाट पछाडि पारिएका आदिबासी, जनजाति, सीमान्तकृत लगायतका समुदायलाई चेतना दिएकै कारणले ति वर्गलाई सहअस्तित्वको आत्मबोध गराएको पाईन्छ ।

सभ्य समाज निर्माणका लागि शिक्षाको योगदान अतुलनीय हुन्छ । यसले सामाजिक शिष्टाचार सिकाउँदै जीवनलाई अनुशासित बनाउन पनि मद्दत गर्दछ । सभ्य नागरिकको निर्माण बिना सभ्य समाज सम्भव हुँदैन र सभ्य नागरिकको निर्माण बिना शिक्षा पूर्ण हुँदैन । विश्व तीव्र गतिमा अगाडि बढिरहेको छ । विज्ञान, प्रविधि, सञ्चार र व्यवसायमा प्रतिस्पर्धा बढेको छ । यस्तो अवस्थामा नेपालले पनि आफ्नो अस्तित्व सबल बनाउन शिक्षालाई जीवनोपयोगी, सीपमूलक र गुणस्तरीय बनाउन आवश्यक छ । यसका साथसाथै शिक्षा नैतिकवान नागरिक बनाउने, राष्ट्रप्रेमी चेतना जगाउने र समाजलाई न्यायपूर्ण र सभ्य बनाउन सक्ने खालको हुनुपर्छ । शिक्षा नैतिकता विहीन भयो भने नागरिक भ्रष्ट बन्दछ । राष्ट्रप्रेम विहीन भयो भने देश कमजोर बन्दै जानेछ र सामाजिक रुपान्तरण विहीन भयो भने समाज असभ्य हुने खतरा बढ्दै जानेछ । त्यसैले शिक्षाको वास्तविक उद्देश्य भनेकै मानिसलाई विवेकी, सदाचारी र उत्तरदायी बनाउनु हो । शिक्षा त्यस्तो हुनुपर्छ जसले व्यक्तिको भविष्य उज्यालो बनाउनुको साथसाथै राष्ट्रलाई सबल र समाजलाई सभ्य पनि बनाउँछ ।

अन्तमा शिक्षा दिवसको अवसरमा आम नेपालीले गर्ने चिन्तन भनेको विद्यालयमा नैतिकता, राष्ट्र, राष्ट्रियता र सामाजिक रुपान्तरणको सही मार्गदर्शन दिने पनि हुनु पर्दछ । यही आधारमा मात्र हाम्रो समाज सभ्य बन्न सक्छ, राष्ट्र सबल बन्न सक्दछ र मानिस नैतिकवान बन्न सक्दछ भन्ने विश्लेषण गरिएको छ । त्यसैले अब हामीले खोज्ने शिक्षा त्यही हो, जसले किताब मात्र होइन, जीवनको पाठ पढाओस् । ज्ञान मात्र होइन, सदाचार पनि सिकाओस् । जव्यक्तिगत सफलता मात्र होइन, सामूहिक समृद्धि पनि सम्भव बनाओस् । आम नेपाली नगरिकले यसबारेमा चिन्तन गर्दै नेपाल र नेपालीको अस्तित्व जोगाउन हरसम्भव प्रयत्न गर्नु आजको आवश्यकता हो । धन्यबाद ।