हेटौँडा : जेन जी युवाको भदौ २३ गतेको प्रदर्शन र त्यसपछि २४ गते भएको विध्वंशपछि भएको परिवर्तनको सन्दर्भमा मकवानपुरका राजनीतिक दलहरु के गर्ने भन्नेमा अलमलमा परेका छन् । केन्द्रबाट फैलिएको राजनीतिक तरङ्गमा के परिवर्तन आउँछ त्यही अनुसार अघि बढ्ने अधिकांश राजनीतिक दलहरुले रणनीति लिएका छन् ।

नेपाली काँग्रेस मकवानपुर केन्द्रबाट कुनै निर्देशन नआएकोले यतिखेर पर्ख र हेरको अवस्थामा छ । केन्द्रमा दलीय राजनीतिक अवस्था उछाल आउने गरेर परिवर्तन भएपनि जिल्ला नेतृत्व केन्द्रकै निर्णय पर्खिरहेका छन् । नेपाली काँग्रेसका जिल्ला सचिव भिमसेन महत अहिलेलाई आफ्नै कार्यालय व्यवस्थापनमा मात्र ध्यान दिने बताउनुहुन्छ ।

नेकपा एमालेको पनि अवस्था उस्तै रहेको छ । आफुहरु अन्य दलहरुसँग छलफल गर्दै रहेको भएपनि कुनै निर्णय भने नगर्ने नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘असंवैधानिक तवरबाट सरकार निर्माण भएकोमा २६ गते नै विरोध प्रदर्शन निकालेको हो । अब केही निर्णय गर्नुअघि केन्द्रको निर्देशन नै पखिन्छौं ।’ आन्दोलनको क्रममा क्षति पुगेको एमाले जिल्ला कार्यालय सरसफाई गरी कार्यालयमा उपस्थित हुन शुरु गरेको पोखरेलले जानकारी दिनुभयो । सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरिएको भएपनि सम्पन्न हुनेमा शंका रहेको उहाँले बताउनुभयो । अब केन्द्रकै निर्देशनमा अघि बढ्ने एमाले मकवानपुरले नीति लिएको छ ।

नेकपा माओवादी केन्द्र पनि यतिखेर कुनै कार्यक्रमको तयारीमा छैन । जिल्ला समितिले केन्द्रबाट सिर्जित परिवेशलाई नै सहमत गरेर अघि बढेको जनाएको छ । माओवादी केन्द्रले केन्द्रीय स्तरबाट नै जेन जी आन्दोलनलाई नैतिक समर्थन गरेको जिल्ला अध्यक्ष भिम पाख्रिनले बताउनुभयो । केन्द्रले पनि आन्दोलनमा घुसपैठ भएको विषयमा समर्थन गरेकोले आफूहरुले पनि घुसपैठबाट भएको क्षतिमा सामेल हुनेलाई कानुनी कठघरामा ल्याउनुपर्ने पाख्रिनले बताउनुभयो । नयाँ सरकार परिवर्तन हुँदा देश सेफ ल्याण्डिङ भएकोले अब सबैले संविधानको रक्षा गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । उहाँले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारसँगै आफ्ना दायित्वहरु पनि पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । आन्दोलनमा सार्वजनिक सम्पति तथा संरचनामा आगो लगाउने कसैलाई छाड्न नहुने भन्दै आफूहरु छानविनमा सहयोग गर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुरका अध्यक्ष भरत पराजुलीले तत्काललाई कुनै कार्ययोजना नरहेको र केन्द्रसँग समन्वय गर्दै पर्ख र हेरको नीतिमा रहेको स्पष्ट पार्नुभएको छ । आन्दोलनमा धनजनको क्षति पु¥याउनेलाई कारबाही गर्न केन्द्रबाट प्रमाणसहित आफ्ना कार्यकर्ताबारे जानकारी पठाउन निर्देशन रहेकोले यसमा नै व्यस्त भइरहेको पनि पराजुलीले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरका अध्यक्ष गुरूप्रसाद सापकोटाले पनि जिल्ला तहले केन्द्रिय तहकै बाटो हेर्दै रहेको बताउनुभयो । उहाँले मंगलबार केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि मात्रै जिल्ला तहमा वर्तमान परिस्थितिबारे निर्णय गरिने स्पष्ट पार्नुभयो ।