सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । शुक्रबार चितवन र धादिङ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१४, शिवनगरमा सिलिन्डर ग्यास पड्किँदा घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२१, का १९ वर्षीय सरोज गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती ७ बजेर १५ मिनेटको समयमा आन्दोलनकारीले भरतपुर महानगरपालिका उप–मेयर चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा घर भित्र रहेको सिलिन्डर ग्यास पड्किँदा सरोज गम्भिर घाइते भएका थिए । घाइते सरोजको शुक्रबार बिहान ११ बजेर ३० मिनेटको समयमा उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको राप्ती नगरपालिका–७, खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा अमृतपानी खानेपानी तथा सरसफाई समितिको चेम्बर भीत्र राप्ती नगरपालिका–७, बस्ने ४० वर्षीय कमल घले रहेको प्रहरीले जानकारी दिएको छ । कमल शुक्रबार बिहान ६ बजेको समयमा सिक्स ग्रुप खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर मृत अवस्थामा फेला परेका थिए ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, त्रिसुली नदिमा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा धादिङको गल्छी गाउँपालिका–६, बस्ने ५५ वर्षीया हिरा सुनार रहेको प्रहरीले जानकारी दिएको छ । हिरा शुक्रबार बिहान १० बजेर ५० मिनेटको समयमा त्रिशुली नदिको किनारामा मृत अवस्थामा फेला परेकी थिइन् ।