न्वागीको अवसरमा मौलिक बाजामा रमाउँदै चेपाङ समुदाय ।

चितवन : चेपाङ समुदायको मौलिक पर्व न्वागी आइतबार चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलामा विशेष सांस्कृतिक कार्यक्रमसहित मनाइएको छ । नेपाल चेपाङ संघको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले समुदायको संस्कृति र भाषाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले आफ्नो जीवनमा पहिलोपटक न्वागी पर्वमा सहभागी हुन पाएको अनुभव बाँड्नुभयो । ‘यो पर्वलाई निरन्तर र ऐतिहासिक बनाउनुपर्छ । हाम्रो भाषा, भेष, संस्कार हामीले नै जोगाउन सकेनौँ भने कसले जोगाइदिन्छ ?’ मन्त्री श्रेष्ठले प्रश्न गर्नुभयो । श्रेष्ठले चेपाङ भाषाबारे आफ्नो अनुभव पनि सुनाउनुभयो । ‘अघिनै सोध्दा थाहा पाएँ ५० प्रतिशतले मात्र भाषा बुझ्छन् रहेछन् । जम्मा जनसंख्या करिब ८४ हजार छ । अब हामीले नै यसलाई संरक्षण गर्न सकेनौं भने अस्तित्व संकट पर्छ,’ उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले न्वागी पर्व र चेपाङ संस्कृति विश्वसामु चिनाउन प्रदेश सरकारले डकुमेन्ट्री निर्माण गरिरहेको जानकारी दिनुभयो । साथै २२ भदौमा धादिङ, मकवानपुर र चितवन जिल्लामा सार्वजनिक बिदा दिने निर्णयलाई ‘समुदायप्रतिको सम्मान’ भन्नुहुँदै प्रदेश सरकारको प्रतिबद्धता दोहोर्‍याउनुभयो । ‘यो बस्तीलाई पर्यटन क्षेत्रको रूपमा अघि बढाउन संस्कृति पर्यटन मन्त्रालय निरन्तर लागिरहनेछ,’ उहाँले भन्नुभयो ।

संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले पनि चेपाङ समुदायले जोगाइराखेको सम्पदाको संरक्षणमा सरकार गम्भीर रहेको बताउनुभयो । ‘आज हामी न्वागी पर्वको डकुमेन्ट्री बनाइरहेका छौँ । चेपाङ भाषा, लिपि र संस्कृतिको संरक्षणमा मन्त्रालय निरन्तर सक्रिय छ’, सचिव सुवेदीले स्पष्ट पार्नुभयो । उहाँले चेपाङ बस्तीलाई होमस्टे, पर्यटन हब र स्थानीय सम्पदा अवलोकनमार्फत प्रवद्र्धन गर्ने योजनासमेत अघि सार्नुभयो । नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द चेपाङले न्वागी पर्वलाई साँस्कृतिक पहिचानसँग जोडिएको ‘लडाइँ’का रूपमा चित्रण गर्नुभयो । ‘यो केवल पर्व होइन, हाम्रो अस्तित्वको पहिचान हो । यसलाई जगेर्ना गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

नेपालका ६ जिल्लामा बसोबास गर्दै आएका चेपाङ समुदायले पालैपालो न्वागी पर्व विशेष रुपमा मनाउँदै आएका छन् । अध्यक्ष गोविन्द चेपाङका अनुसार अघिल्लो वर्ष धादिङमा आयोजना भएको न्वागी पर्व यस वर्ष चितवनमा सम्पन्न भएको हो भने अर्को वर्ष मकवानपुरको राक्सिराङमा आयोजना गरिनेछ । चेपाङ समुदायमा पितृलाई पूजा नगरी नयाँ अन्न वा फलफूल खान नहुने धार्मिक मान्यता रहिआएको छ । न्वागीको दिन घैया धान, काउँनो, पिँडालु जस्ता अन्नपात र फलफूल भूमिमा अर्पण गर्ने, ढ्याङ्ग्रो बजाउँदै कुखुरा बलि दिने, नातागोता भेला भई भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने परम्परा छ । गोविन्द चेपाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव सन्तबहादुर चेपाङलगायत केन्द्रीय सदस्य, स्थानीय प्रतिनिधि र समुदायको उल्लेख्य सहभागिता थियो ।