हेटौंडा : बागमती प्रदेशका सबै र मधेशका ४ जिल्लाका मालपोत तथा नापी कार्यालयका प्रमुखहरुले आफ्ना कार्यालयले जनतामैत्री र प्रभावकारी सेवा प्रवाहका लागि ८ बुँदे प्रतिबद्धता जनाएका छन् । भूमि व्यवस्था तथा अभिलेख व्यवस्थापन कार्यालयको आयोजनामा बिहीबारदेखि हेटौंडामा सञ्चालित भएको भूमि प्रशासनसँग सम्बन्धित समस्या पहिचान, सहजीकरण, व्यवस्थापनसम्बन्धी ३ दिने सहजीकरण कार्यक्रमपश्चात् ८ बुँदे प्रतिबद्धता जनाएका हुन् ।
प्रतिबद्धतापत्रमा सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र अपाङ्गमैत्री बनाउने, सुशासन तथा व्यवस्थापनमा सूचना प्रविधिको यथासक्य धेरै प्रयोग गर्ने, बेरुजु फछ्र्यौट गर्ने, सम्बन्धित निकायहरुसँग निरन्तर समन्वयमा रहने, मालपोत अभिलेख सुदृढीकरण गर्ने, कार्यालयमा आउने गुनासो तथा उजुरी सहज र छिटो सुनुवाई गर्नेलगायतका विषय समावेश छन् । कार्यक्रममा विद्यमान समस्याहरु केलाउँदै सहभागीहरुले अबको समयमा जग्गा प्रशासनलाई छिटो छरितो र सकारात्मक छवि निर्माण गर्दै अघि बढ्न यो प्रतिबद्धता जारी गरेको बताएका छन् ।
कार्यक्रममा कार्यालय प्रमुखहरुले आफ्ना कार्यालयको प्रगति प्रस्तुति तथा समीक्षा गरिएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । जग्गा प्रशासन कार्यान्वयन समस्या र समाधानका विषयमा विभागका निर्देशक काजीबहादुर बिष्टले सहजीकरण गर्नुभएको थियो ।
यस्तै, मालपोत कार्यालयहरुमा सूचना प्रविधिसम्बन्धी विषयमा विभागका कम्प्युटर इन्जिनियर बलराम काप्mले, लेखा तथा बेरुजु फछ्र्यौटलयायतका विषयमा लक्ष्मण सिंह भण्डारी र कानुन तथा फैसला कार्यान्वयनका विषयमा विभागका कानुन अधिकृत ध्रुव भण्डारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्ला र मधेस प्रदेशका पर्सा, बारा, रौतहट र सर्लाही जिल्लास्थित मालपोत तथा नापी कार्यालय प्रमुखहरुको सहभागिता थियो ।











