हेटौंडा : हेटौंडा उपमहानगरपालिकाका सरसफाई कर्मचारीहरुको स्वास्थ्य तथा सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । बिहीबार ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्राइभेट लिमिटेडको आयोजनामा १ दिने अभिमुखीकरण कार्यक्रम भएको हो ।
सरसफाईमा संलग्न कामदारहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न लागेको कार्यक्रमका सभाध्यक्ष तथा ग्रिन एण्ड क्लिन सर्भिस प्रालिका अध्यक्ष नवराज खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, विशिष्ट अतिथि वन तथा वातावरण संरक्षण समितिका संयोजक एवम् वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दार्जे लामा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवम् वरिष्ठ पत्रकार प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतका अतिथिहरुको उपस्थिति थियो ।
नेपाल ट्रेड युनियन बागमतीका अध्यक्ष अर्जुन आर्यालले कामदारहरुलाई सामाजिक सुरक्षा कोषका बारेमा जानकारी दिनुभएको छ । सामाजिक सुरक्षामा संलग्न भएका कामदारहरुले ओपिडीमा जाँच गराएमा सम्बन्धित व्यक्तिको श्रीमान÷श्रीमती र २ जना १८ वर्ष पूरा नभएको सन्तानलाई वर्षको २५ हजार रुपैयाँसम्म उपचार खर्च तथा भर्ना भई उपचार गर्नुपर्दा १ लाख रुपैयाँसम्मको उपचार खर्च कोषले व्यहोर्ने आर्यालले बताउनु भयो ।
यसैगरी, यात्राको क्रममा दुर्घटना पर्दा ७ लाखसम्मको औषधि उपचार खर्च तथा काम गर्दागर्दै दुर्घटनामा पर्दा सम्पूर्ण उपचार खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने व्यवस्था छ । कोषमा आवद्ध व्यक्ति दुर्घटनामा परी अशक्त हुँदा नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत अशक्त रहुञ्जेल पाउने व्यवस्था रहेको आर्यालयले बताउनु भयो ।
कुनै कामदारको दुर्घटनामा परी मृत्यु भएमा सामाजिक सुरक्षा कोषमा जम्मा सम्पूर्ण रकम परिवारले फिर्ता पाउनुका साथै काजक्रियावापत परिवारले २५ हजार रुपैयाँ पाउनेछ । मृतकको श्रीमान÷श्रीमती एवम् अविवाहितको हकमा आमा वा बुबाले आजीवन ६० प्रतिशत पेन्सन पाउने व्यवस्था छ । त्यसैगरी कामदारको ६० वर्षमा अवकाश भएमा ६० प्रतिशत पेन्सन पाउनुको साथै कोषले प्रतिमहिना आधारभूत पारिश्रमिकको ८.३३ प्रतिशतले हुन आउने रकम उपदानबापत पाउने व्यवस्था रहेको अध्यक्ष आर्यालयले बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रमसँगै प्रेसविज्ञप्ति जारी गरिएको छ । वि.सं. २०६६ साल असारमा स्थापना भएको ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रालिले स्थापना कालदेखि नै हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा फोहोर संकलन तथा व्यवस्थापन कार्य गरी हेटौंडा उपमहानगरपालिकालाई सफा, स्वच्छ, सुन्दर बनाउन योगदान पु¥याउँदै आएको छ । यस संस्थाले कर्मचारीहरुलाई नियुक्त गरी कार्य क्षेत्रमा खटाउँदै आएको छ ।
हाल फोहार संकलन तथा व्यवस्थापन कार्यमा ५३ जना कर्मचारी कार्यरत रहेका छन् । फोहोर व्यवस्थापनका लागि यस संस्थाले ३ करोड रुपैयाँ लगानी गरिसकेको र हाल २० हजार घरधुरीले सेवा लिइरहेको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
फोहोर व्यवस्थापन गर्न वेस्ट डेमो सेन्टर निर्माणका लागि हेटौंडा १ चौकीटोलमा ५ कठ्ठा जमिन लीजमा लिइएको छ । हेटौंडा १ भैरव डाँडामा जग्गा लिजमा लिई आधुनिक कम्पोष्ट प्लान्ट निर्माण गरी कम्पोष्ट मल उत्पादन गर्ने र फोहोरमैला व्यवस्थापन र गुनासो व्यवस्थापनका लागि एप निर्माण अन्तिम चरणमा रहेको खतिवडाले बताउनु भयो ।











