आइतबार सञ्चालनमा आएको हेटौँडा–४, भुवनेश्वर मन्दिर नजिकैको विक्री केन्द्र ।

हेटौँडा : मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले हेटौँडा–४ मा दुध तथा दुग्ध पदार्थ विक्री केन्द्र विस्तार गरेको छ । आइतबारदेखि हेटौँडा–४, भुवनेश्वर मन्दिर नजिकै विक्री केन्द्र सञ्चालनमा ल्याइएको हो । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको उपस्थितिमा विक्री केन्द्रको उद्घाटन गरिएको हो ।

हेटौँडा–१ स्थित संघको कार्यालयमै विक्री केन्द्र समेत रहेको छ भने हेटौँडा–४ भैरवरोडमा पनि संघले विक्री केन्द्र सञ्चालन गरेको छ । भैरवरोडमा साउनमा विक्री केन्द्र स्थापना गरेको संघले निकट भविष्यमै हेटौँडा बजार क्षेत्रमा थप २ वटा विक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको व्यवस्थापक दामोदर अधिकारीले जानकारी दिनुभयो । उपभोक्तालाई सहुलियत दरमा दुध तथा दुग्धजन्य पदार्थ उपलब्ध गराउन विक्री केन्द्र विस्तार गरिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक दामोदर अधिकारीले जानकारी दिनुभयो ।

साउनबाट सञ्चालनमा आएको भैरवरोडको विक्री केन्द्रले सुरुमा ३० देखि ४० लिटर दुध विक्री गरेकोमा अहिले झण्डै २ सय लिटर दुध विक्री गर्ने गरेको व्यवस्थापक अधिकारीको भनाइ छ । यसअघि २ वटा विक्री केन्द्रबाट दैनिक १ हजार २ सय लिटर दुध, एक सय लिटर दही, ५० देखि ६० केजी पनिर, ३ सय केजी नौनी र ५० लिटर घ्यु विक्री गर्दै आएको व्यवस्थापक अधिकारीले जानकारी दिनुभयो । दसैंसम्ममा विक्री केन्द्र विस्तार गरी दुध तथा दुग्धजन्य पदार्थको विक्री बढाउने योजना रहेको उहाँले बताउनुभयो ।

मकवानपुर दुग्ध उत्पादक सहकारी संघले मकवानपुर जिल्लाका ५६ वटा दुग्ध उत्पादक सहकारीबाट दैनिक ६० हजार लिटर दुध संकलन गर्दै आएको छ । दुध संकलनका लागि ४३ वटा चिस्यान केन्द्र रहेका छन् । संघले आफैं डेरी उद्योग स्थापना गर्नुका साथै संकलित दुध काठमार्डौं उपत्यकासहित कास्की, र काभ्रेपलाञ्चोक जिल्लास्थित डेरी उद्योगहरुलाई विक्री गर्दै आएको छ । संघले दैनिक संकलन गर्ने ६० हजार लिटर दुध मध्ये २० हजार जिल्ला भित्रै खपत भइरहेको छ । संघले दुध प्रतिलिटर ८० रुपैयाँ, दहि प्रतिलिटर १४० रुपैयाँ, घिउ प्रतिलिटर १ हजार १ सय रुपैयाँमा विक्री गरिरहेको छ भने पनिर प्रतिकेजी ६५० रुपैयाँ र नौनी प्रतिकेजी ८ सय २५ रुपैयाँमा विक्री गरिरहेको छ ।