हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका १३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेका प्रयोगशालाबाट आज साँझ प्राप्त रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिकाका ४ महिला र ९ जना पुरुष गरी १३ जना सङक्रमित थपिएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।
आज थपिएका सङक्रमितमा हेटौंडा–१, लालझाडीकी ४३ वर्षीया महिला, हेटौंडा–४ का ४५ वर्षीय पुरुष र उमेर नखुलेकी एक महिला छन् । यस्तै हेटौंडा–५ का २२ वर्षीया महिला, २३, ४४ र ४८ वर्षीय पुरुष, हेटौंडा–१० का ३७, ५० र ६० वर्षीय पुरुष र अर्का एकजना उमेर नखुलेका पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै हेटौंडा–१३ का २७ र ३५ वर्षीय पुरुषमा कोरोना सङक्रमण पुष्टि भएको छ ।