सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र काभ्रे जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६, वलीचोकमा स्कुटर दुर्घटनामा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार राती ९ बजेर ५० मिनेटको समयमा म प्र ०३–०३७ प ९८५१ नम्बरको स्कुटर अचानक कुकुरसँग ठोकिएर पल्टँदा ३० वर्षीय सन्जय लामिछाने र ४० वर्षीय सन्तोष भट्ट घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैलाई उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । पछाडी सवार सन्तोषको बुधबार दिउँसो १ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सन्जयको भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको र अवस्था मध्यम रहेको छ ।

काभ्रेको बनेपा नगरपालिका–२, गिरी गाँउमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–४ का ४६ वर्षीय प्रेम बहादुर बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । बस्नेत बुधबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा गिरी गाँउस्थित शिव मन्दिरको परिसरको भजन कृतन गर्ने कोठामा मृत फेला परेका थिए ।

काभ्रेको धुलिखेल नगरपालिका–१२, संखुपाटीस्थित मानव कल्याण समाज सेवा घरमा बस्दै आएको एक जना पुरुषको मृत्यु भएको छ । २०८० साल साउन १५ गतेबाट कल्याण समाज सेवा घरमा बस्दै आएका ठेगाना नखुलेको ६२ वर्षीय दावा नोर्बे शेर्पाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार राती १० बजेर १० मिनेटको समयमा शेर्पाको घरमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।