हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले इन्द्रसरोवर गाउँपालिकामा राष्ट्रिय परिचयपत्र घुम्ति शिविर सञ्चालन गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेलका अनुसार गाउँपालिकामा रहेका अशक्त २०८ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।
गाउँपालिकाका ३ सय जना लाभग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको थियो । कार्यालयले शुक्रबार, शनिबार र आइतबार गाउँपालिकाका ५ वटै वडामा शिविर सञ्चालन गरेको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको निर्देशनमा पौडेलसहित दर्ता अपरेटर कैलाश जोशी र सुन्दर वाग्लेले शिविर सञ्चालन गर्नुभएको थियो । शुक्रबार वडा नम्बर ४ र ५, शनिबार वडा नम्बर १ र २ एवम् आइतबार वडा नम्बर ३ मा सेवा सञ्चालन गरेकोे बताइएको छ । शिविरमा २ सय ८५ जनाको विवरण दर्ता र फोटो खिच्ने कार्य भएकोमा २ सय ८ जनालाई परिचयपत्र नम्बर उपलब्ध गराइएको छ ।
ज्येष्ठ नागरिक तथा अपाङ्गत भएका व्यक्तिलाई राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने र छुट भएका लाभग्राहीको फोटो खिच्ने उद्देश्यले शिविर आयोजना भएको थियो । शिविरमा वडा अध्यक्ष, वडा सचिव र स्थानीय समाजसेवीलाई राष्ट्रिय परिचयपत्र नम्बर हेर्ने सेवा वडाबाट प्रदान गर्न अभिमुखीकरण गरिएको अधिकृत पौडेलले जानकारी दिनुभयो ।











