हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०४१४ नम्बरको इभी गाडीलाई सुरक्षा जाँच गर्दा गाडीमा सवार दुई जनाको साथबाट लागूऔषध खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले हेटौँडा–१ का २२ वर्षीय समिर मोक्तान र धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४, घर भई हाल जिल्ला हेटौँडा–१० बस्ने २४ वर्षीय सिद्धार्थ आलेमगर साथबाट ९ ग्राम २०० मिलि ग्राम लागूऔषध फेला परेको थियो । लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।










