हेटौँडा : हेटौँडा–११, थानाभर्‍याङमा निर्माण गरिएको प्रादेशिक कृषि थोक बजार तत्काल सञ्चालनमा नआउने भएको छ । बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको थोक बजारको आइतबार बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभएको थियो ।

२ विगाह ४ धुर क्षेत्रफलमा ३२ करोड १० लाख रुपैयाँ बजेटमा तयार भएको कृषि थोक बजार कार्यविधिको अभावमा सञ्चालनमा आउन नसक्ने अवस्था भएको हो । थोक बजार सञ्चालनका लागि आवश्यक पर्ने सञ्चालन कार्यविधि प्रदेश सरकारले प्रमाणित गरिनसकेकोले सो कार्यविधि पारित नभएसम्म थोक बजार सञ्चालन गर्न नसकिने हेटौंडा उपमहानगरपालिकाका आर्थिक महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यविधिको प्रस्ताव अनुसार उपमहानगरपालिका प्रमुखको अध्यक्षतामा बजार सञ्चालन समिति निर्माण भई सो समितिले नै तोकिए अनुसार सञ्चालन गर्न थाल्ने छ । त्यसका लागि कार्यविधि निर्माण हुनुपर्नेछ ।

हाल कार्यविधि प्रमाणीकरणका लागि बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट आर्थिक मामिला मन्त्रालयमा पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसपछि मन्त्रिपरिषद्बाट कार्यविधि पास भएपछि मात्र समिति गठनको प्रक्रिया अघि बढाइने महाशाखा प्रमुख सापकोटाले बताउनुभयो । कृषि थोक बजार मन्त्रालयले गएको मंसिर ८ गते निर्माण सम्पन्न गरी आइतबार हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

थोक बजार निर्माणका लागि ७० प्रतिशत बजेट प्रदेश सरकारले लगानी गरेको छ भने ३० प्रतिशत लगानी हेटौँडा उपमहानगरपालिकाले व्यहोरेको छ । थोक बजारमा ६३ वटा सटर रहेका छन् । २०७८ साल जेठ ९ गते निर्माण कम्पनिसँग सम्झौता गरिएको थियो । निर्माण सम्पन्न भएर हस्तान्तरण भएको थोक बजारमा ४० वटा सटर थोक व्यवसायीका लागि रहेको छ भने २३ वटा सटर खुद्रा व्यवसायीले प्रयोग गर्न पाउनेछन् ।

थोक बजारमा किसानले पनि सिधै उपभोक्तालाई बिक्री गर्न पाउने स्थान निर्माण गरिएको छ । साना किसानलाई लक्षित गरी सिधै विक्री गर्न सकिने व्यवस्था गरिएको हो । थोक बजारमा २ सय ३२ बर्गमिटर क्षेत्रफलको कोल्डस्टोरेज समेत रहेको छ । उक्त कोल्डस्टोरेजमा ५ सय मेट्रिकटन कृषिउपज सुरक्षित भण्डारण गर्न सकिने बताइएको छ ।