सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट, चितवन र दोलाखा जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–१०, धमलेमा करेन्ट लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–७ की विजय राना मगरकी छोरी आँचल राना मगर रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान १० बजेर ३० मिनेटको समयमा आँचल घरमा खेल्ने क्रममा पलङमाथि राखिएको मोबाइल चार्जरको प्लगमा छोएको बेला करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि त्रिशूली अस्पताल लगिएकोमा दिउँसो २ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत्त घोषणा
गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२, क्षेत्रपुरमा एक बेवारिसे अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । शुक्रबार राती १० बजेर १० मिनेटको समयमा क्षेत्रपुरस्थित चित्रावती पार्टी प्यालेसअगाडि सीता कुमारी कुमालको घरअगाडिको पेटीमा अन्दाजी ६५ वर्षीय पुरुष अचेत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । पुरुषलाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा राती १० बजेर ५५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका–३, पुरानो बजारमा एक वृद्धाको लडेर मृत्यु भएको छ । भिमेश्वर नगरपालिका–५ माटी घर भई हाल पुरानो बजारमा बस्दै आएकी ७३ वर्षीया चन्द्रकुमारी न्यौपाने रहको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो १ बजेर २० मिनेटको समयमा न्यौपाने ट्वाइलेटबाट फर्किने क्रममा अचानक लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।