सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । शनिबार चितवन र काभ्रेपलाञ्चोकमा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२६, स्थित घान्द्रुक चोकमा गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख ७५ वर्षीय पृथ्वीमान गुरुङको आफ्नै निवासमा मृत्यु भएको छ । गुरुङको घरमै रहँदा अचानक अस्वस्थ भएपछि उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेको पनौती नगरपालिका–३, बगुवामा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान १० बजेर १० मिनेटको समयमा कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घटनामा चालक पनौती नगरपालिका–५ का ३२ वर्षीय विजय थापा, उनका ५ वर्षीय छोरा बिएन्स थापा र श्रीमती ३२ वर्षीया सुजना खत्री घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको थियो । सुजनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेको तेमाल गाउँपालिका–१ अमलटारीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका–१३ का ५८ वर्षीय गगन बहादुर भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार राती ९ बजेको समयमा धान रोपेर घर फर्किने क्रममा घिउ खोलाले बगाउँदा गगन बेपत्ता भएका थिए । गगनलाई खोज तलास गर्दै जाँदा शनिबार बिहान १० बजेर ५० मिनेटको समयमा तेमालकै सुनकोशी नदी किनारमा मृत फेला परेको प्रहरीले जनाकारी दिएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ ।