हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । शुक्रबार चितवन, काभ्रेपलाञ्चोक, रसुवा र सिन्धुपाल्चोकमा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको रत्ननगर नगरपालिका–१६, हातीगाडेस्थित नहरमा एक जना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा ७५ वर्षीय कर्णबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान ९ बजेको समयमा गुरुङ हातीगाडे नहरदेखि करिब १ किलोमिटर दक्षिणतर्फको सोही नहरमा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रसुवाको नौकुण्ड गाउँपालिका–३, गुम्बाडाँडास्थित गुरुखोलामा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ७२ वर्षीय दिलबहादुर घलान रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान ८ बजेको समयमा घलान राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय रसुवा जान घरबाट निस्केका थिए । उनी अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा शुक्रबार दिउँसो १ बजेको समयमा गुरुखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० मा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा ६५ वर्षीय शिवप्रसाद नेपाल रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो २ बजेको समयमा आफ्नै गोठमा मल्टिप्लगबाट बिजुलीको तार निकाल्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । घाइते नेपाललाई उपचारका लागि मण्डनदेउपुर आधारभूत अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार दिउँसो ३ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएकोे छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङस्थित चीन–नेपाल मितेरी पुल नजिकै एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय टंक किरीटभाइ चुनिलाल रहेको प्रहरीले जानकारी दिएको छ । चुनिलाल मानसरोवर तीर्थयात्राका लागि चीन जान लागेका थिए । यात्रा क्रममा उनी शुक्रबार बिहान ८ बजेर ५० मिनेटको समयमा अचानक बेहोस भएका थिए । चुनिलालको प्रारम्भिक रूपमा धुलिखेल शाखा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि बाह्रबिसे नगर अस्पताल पुर्याइएकोमा बिहान १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।











