सहयोग रकमको चेक हस्तान्तरण गरिँदै ।

हेटौँडा : हेटौँडा–४ स्थित सत्य जेभियर्स इंग्लिस स्कूलका शिक्षक हेमन्त नेगीको उपचारका लागि हेटौँडा उपमहानगर क्षेत्रका संस्थागत विद्यालयले सहयोग गरेका छन् । ब्लड क्यान्सर पीडित नेगी हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) हेटौँडा उपमहानगर समितिको पहल तथा प्याव्सन मकवानपुरसँगको सहकार्यमा नेगीको उपचारका लागि सहयोग संकलन गरिएको हो । हेटौँडा उपमहानगर क्षेत्रका २२ वटा विद्यालयबाट संकलन भएको ८ लाख ३१ हजार २ सय ५ रुपैयाँ नेगीका सालो भाइ धर्मराज गुम्मीलाई हस्तान्तरण गरिएको छ । प्याव्सन मकवानपुरका सहसचिव रामबाबु सापकोटाले शनिबार बिहान धर्मराज गुम्मीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

१५ वर्षदेखि संस्थागत विद्यालयमै माध्यमिक तहमा अंग्रेजी विषय अध्यापन गराउँदै आउनुभएका नेगी करिब ३ महिनाअघि ब्लड क्यान्सर भएको पुष्टी भएपछि उपचाररत हुनुहुन्छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई अप्ठ्यारो पर्दा विद्यालय, शिक्षक, विद्यार्थी समेतले सहयोग गरेको प्याव्सन हेटौँडा उपमहानगर समितिका सचिव सुदीप राज गिरीले जानकारी दिनुभएको छ ।