हेटौंडा : मकवानपुरमा गत आर्थिक वर्ष २०८१ ०८२ मा सबैभन्दा बढी लागूऔषध सम्बन्धी आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । जिल्लामा भएका सबै प्रकारका आपराधिक घटनामध्ये प्रमुख चुनौतीको रुपमा लागूऔषध सम्बन्धी मुद्दा रहेकाले यसको नियन्त्रण पेचिलो बन्दै गएको हो ।
एक वर्षको अवधिमा जिल्लामा लागूऔषधका मात्रै एक सय ८८ वटा मुद्दा परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । लागू औषध मुद्दामा २ सय ८० पुरुष र १८ जना महिला गरी २ सय ९८ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा मकवानपुर प्रहरीले ६ हजार ४ किलोग्राम गाँजा, २६ किलोग्राम अफिम र ५१ किलोग्राम चरेस बरामद गरेको छ । प्रहरीले खैरो हेरोइन ४ सय ७६ ग्राम, नाइट्राभेट ९५ हजार २ सय ७१ ट्याब्लेट, डाइजापाम २ हजार ७ सय ५७ एम्पुल, कोरेक्स ६ सय २८ बोतल नियन्त्रणमा लिएको थियो । लागूऔषध ओसारपसारमा प्रयोग गरिएका ५५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
जिल्लाको पश्चिमी क्षेत्रमा हुने गाँजा तथा अफिम खेती नियन्त्रण गर्न नसकेको अवस्थामा भारतबाट भित्रने खैरो हेराइन नियन्त्रण गर्नसमेत चुनौती बन्दै गएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले बताउनुभयो । लागूऔषध उत्पादन, ओसारपसार र प्रयोग एवम् बिक्री वितरणको नियन्त्रणमा खटिएका प्रहरी एवम् सुरक्षाकर्मीमाथि नै हतियार प्रयोग र भौतिक आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । लागूऔषधकै कारण अबैध हातहतियार सम्बन्धी सवाल उठेको उहाँको भनाइ छ ।
गत सोमबार सम्पन्न सर्वदलीय बैठकमा पनि राजनीतिक दलसमक्ष लागूऔषध नियन्त्रणका लागि साथ र सहयोगको अपिल गरेको उहाँको भनाइ छ । उहाँले जिल्लाका १ सय २ वटै वडाहरुमा लागूऔषध नियन्त्रणका लागि समन्वय गरिरहेको र नियमितरुपमा लागूऔषध उत्पादन, सञ्चय गर्ने, कारोबार हुने स्थानको खानतलासीको क्रम बढाएको भएपनि नियन्त्रणमा नआएको स्पष्ट पार्नुभयो ।
जिल्लामा अभद्र व्यवहारमा १ सय ५५ वटा, बैकिङ कसुरमा १ सय ५२, चोरी तथा डाँकामा ८२ वटा र जबरजस्ती करणीका ४१ वटा मुद्दा परेका छन् । यस्तै, बालयौन दुव्र्यबहारमा १५ वटा, कर्तव्य ज्यानमा १४ वटा, नागरिकतासम्बन्धी कसुरमा १३ वटा र अन्यमा ४ सय १५ वटा मुद्दा परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । अदालतबाट फरार घोषित ५ सय ९९ जना प्रतिवादीहरुमध्ये गत आर्थिक वर्ष १ सय ८३ जना फरार प्रतिवादी पक्राउ गर्न प्रशासन तथा सुरक्षा संयन्त्र सफल भएको छ ।











