हेटौँडा : हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । शुक्रबार प्रधानाध्यापक चौलागाईले विद्यालयलाई १ सय ४५ पुस्तक हस्तान्तरण गर्नु भएको हो ।
चौलागाईले अघिल्ला वर्षहरूमा पनि पुस्तक हस्तान्तरण गर्दै आउनु भएको थियो । उहाँले ती पुस्तकहरू जनप्रिय रिडर्स क्लब मातहत रहनेगरी विद्यालयलाई उपलब्ध गराउनु भएको हो । जनप्रिय रिडर्स क्लबकी अध्यक्ष शिक्षा गौतमलाई पुस्तक हस्तान्तरण गर्दै चौलागाईँले जनप्रियले चालेको अभियानले विद्यार्थीहरूको मानसिक क्षमतामा अभिवृद्धि गर्ने, पठन संस्कृतिले डिजिटल डिभाइसको अति प्रयोगलाई विस्थापन गर्ने, तार्किक क्षमतामा वृद्धि गर्दै वैयक्तिक विकासमा योगदान पुर्याउनेमा विश्वस्त रहेको बताउनुभयो ।
पुस्तक १६ नम्बर वडाका वडा सदस्य गुरूप्रसाद ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटी, शिक्षक अभिभावक संघका अध्यक्ष गीताप्रसाद दुलाल, विभिन्न समितिका सदस्य तथा शिक्षकहरूको उपस्थितिमा हस्तान्तरण कार्यक्रम गरिएको हो । अतिरिक्त विभाग संयोजक युक्तलाल विश्वकर्माले शुभकामनासाथ पुस्तकले सूचना र ज्ञानगुनका कुरा दिने अनि भविष्यको मार्गदर्शन गर्ने बताउँदै विद्यार्थीहरूलाई धेरै सुन्न र थोरै अनि आवश्यक बोल्नका लागि सन्देश दिनुभयो ।
साहित्य तथा बौद्धिक विभाग संयोजक संप्रस पौडेलले पठन संस्कृतिको खास रूप नै कक्षाको पुस्तकालय रहेकोले पुस्तकहरू कक्षा–कक्षामैं रहनेगरी उपहार प्राप्त हुने क्रम बढ्दै गएको र यसले विद्यार्थीहरूमा पढ्ने र त्यसबारे छलफल गर्ने आनिबानीको विकास भएको, निडर भएर बोल्ने क्षमताका साथै लेखनसीपमा सकारात्मक सुधार हुँदै गएको बताउनुभयो ।
विद्यालयका विभिन्न कक्षाहरूमा रहेको बुक र्याकमा पुस्तक राख्ने उद्देश्यले ‘एक व्यक्ति एक पुस्तक हस्तान्तरण कार्यक्रम’ अन्तर्गत शिक्षक, अभिभावक, विद्यार्थी, साहित्यकार, साहित्यसेवीहरूमार्फत् पुस्तक उपलब्ध भइरहेको छ । विद्यार्थीहरूले खाली घण्टीमा अध्ययन गर्ने, घरमा लगी अध्ययन गर्ने गरेका छन् भने अघिल्ला वर्षदेखि पुस्तक पढेपश्चात् त्यसबारे समीक्षा समेत गर्ने गरिएको छ ।











