हेटौंडा : मकवानपुर जिल्ला फुटबल संघले १६ जना खेलाडीहरुलाई यु–१७ का लागि छनोट गरेको छ । अखिल नेपाल फुटबल संघले भुटानमा आयोजना हुने साफ वोमन च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिताका क्रममा प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन मकवानपुर जिल्लाको टिम घोषणा गरिएको संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभयो ।
यु–१७ का लागि जिल्लाबाट छनोट सुरु गरिएको हो । महिला प्रशिक्षक भीम लामा र मकवानपुर एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठको माध्यमबाट दुई दिनमा १६ जना खेलाडी छनोट गरिएको उहाँले जानकारी दिनुभयो । बागमती प्रदेशभित्र रहेको जिल्लामध्ये चितवन, धादिङ, सिन्धुली र मकवानपुरका खेलाडीको छनोट बिहीबार र शुक्रबार पिप्ले क्याम्पा रंगशालामा हुनेछ । बाँकी जिल्लाको खेलाडी छनोट धुलिखेल जिल्लाबाट गरिनेछ ।
जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघले साउन ४, ५ र ६ गते काठमाडौंबाट छनोट गर्नेछ । जिल्ला, प्रदेश र केन्द्रबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर चार देश नेपालसहित बंगलादेश, भारत र भुटान सम्मिलित खेलमा भाग लिनेछ । प्रतियोगिता भुटानको थिम्पुमा २० अगष्टदेखि ३१ अगष्टसम्म सञ्चालन हुनेछ । यससँगै पुरुषको पनि साउन १० गतेभित्र छनोट गरिसक्ने उहाँले जानकारी दिनुभयो ।











