सीसीटिभी क्यामराको उद्घाटन समारोहमा सहभागी अतिथिहरु ।

हेटौँडा : बागमती प्रदेशका ६४ स्थानमा १ सय २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

सार्वजनिक सुरक्षालाई सुदृढ बनाउँदै अपराध रोकथाममा प्रविधिको प्रभावकारी प्रयोग गर्ने उद्देश्यसहित प्रविधियुक्त ‘सिसिटिभी निगरानी प्रणाली’को मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । हेटौँडामा आयोजित विशेष समारोहमार्फत बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले उक्त प्रणालीको उद्घाटन गर्नुभएको हो ।

उक्त क्यामेराहरु ३८ वटा प्रहरी युनिटमार्फत नियमित निगरानी गरिने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ । नारायणगढ (चितवन), भिमान (सिन्धुली) र रातोमाटे (मकवानपुर) जस्ता संवेदनशील स्थानहरुमा अत्याधुनिक बिएलएच क्यामेरा र रडार प्रणाली जडान गरिएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिनुभयो । ट्राफिक व्यवस्थापन तथा अपराध नियन्त्रणमा ठोस योगदान दिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रणालीमार्फत कम्तीमा ९० दिनको डेटा भण्डारण गर्न मिल्ने व्यवस्था रहेको छ भने विद्युत अवरोधको अवस्थामा पनि प्रणाली बन्द हुन नदिन युपिएस प्रणाली समेत जडान गरिएको उहाँको भनाई छ । सार्वजनिक खरिद प्रक्रिया अनुसार बोलपत्र आव्हान गरेर ठेक्का प्राप्त उक्त प्रणाली खरिद गरिएको उहाँले बताउनुभयो । २०८२ जेठ १० गते सम्झौता गरिएको उक्त ठेक्का असार मसान्तभित्र सक्ने गरी २ करोड ८४ लाख ११ हजार रुपैयाँ लागत रहेको उहाँले बताउनुभयो ।