हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार छुट्टाछुट्टै स्थानबाट बकैया गाउँपालिका–३, हात्तिसुँडेका २३ वर्षीय कुशल खड्का र हेटौँडा–१३, पदमपोखरीका २५ वर्षीय राहुल राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
हेटौँडा–२, पिपलबोट क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले शनिबार साँझ साढे ५ बजेको समयमा खड्कालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । खड्काको साथबाट प्रहरीले लागूऔषध ट्रामाडोल ५२ क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ । खड्कालाई लागूऔषधसम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्यान अनुमति लिई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै शुक्रबार दिउँसो साढे ४ बजेको समयमा हेटौँडा–१३ का राहुललाई लागूऔषधसहित प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । लागूऔषध ट्रामाडोलसहित बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले राहुललाई लागूऔषध ट्रामाडोल २० क्याप्सुल र डाईजेपाम ११ एम्पुलसहित पक्राउ गरिएको जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।











