सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको चितवन जिल्लामा विभिन्न घटनामा ३ जनाको मृत्यु भएको छ । बिहीबार र शुक्रबार २ जनाको मृत्यु भएको छ भने एक शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–७, कडरीया बुढीराप्ती खोलाले बगाई बेपत्ता भएका बालक मृत फेला परेका छन् । बिहीबार दिउँसो ३ बजेको समयमा बुढीराप्ती खोलामापौडी खेल्ने क्रममा रत्ननगर नगरपालिका–९, का १५ वर्षीय अनमोल लम्साल खोलाले बगाई बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । अनमोल बगाएकोमा चप्पल ल्याउन जाने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएका थिए । अनमोललाई खोज तलास गर्दै जाँदा शुक्रबार बिहान बडरिया स्थित सोही खोलाको किनारमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको राप्ती नगरपालिका–२, गढ्यौलीमा मोटरसाइकलको ठक्करबाट साइकल सवार बालकको मृत्यु भएको छ । बिहीबार राती ९ बजेर ४० मिनेटको समयमा ना.६४ प २९४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा साइकल चालक राप्ती नगरपालिका–२, कुपनटोलका १५ वर्षीय रबिन सुनार, पछाडि सवार १५ वर्षीय सोहन तामाङ र मोटरसाइकल चालक राप्ती नगरपालिका–१, का ३० वर्षीय सुदिप लामिछाने घाइते भएका थिए । घाइते ३ नै जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा सोहनको राती १० बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित त्रिशुली नदी किनारमा एक जना पुरुष मृत फेला परेको छ । बिहीबार दिउँसो १२ बजेर २० मिनेटको समयमा अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । अस्पताल बाँया खुट्टाको घुडा देखि तलको भाग नभएको, दाहिने खुट्टा कम्मरदेखि तलको नभएको, टाउको नभएको शव फेला परेको थियो । मुचुल्का पश्चात पोष्टमार्टमका लागि शव काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।