हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–६, बज्रबाराही पोखरीडाँडास्थित गोरेटोबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका–१, कुन्छालका ६२ वर्षीय कृष्ण गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गोपाली घर भन्दा केही पर रहेको गोठमा एक्लै बस्ने गरेका थिए । मंगलबार बिहान ७ बजेको समयमा बज्रबाराही बजारमा दुध बेचेर फर्कने क्रममा गोरेटोबाट १० मिटर तल खस्दा घटनास्थलमा नै कृष्णको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै धादिङ जिल्लाको गजुरी गाउँपालिका–२, मलेखुस्थित वृद्वाश्रममा आश्रित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२, आरुपोखरीका ६७ वर्षीय भक्तबहादुर श्रेष्ठ रहेको बगमती प्रदेश प्रहरीले जानकारी दिएको छ । श्रेष्ठ भद्रकाली जेष्ठ नागरिक संस्था (वृद्वाश्रम) मा २०७९ साल वैशाखदेखि बस्दै आएका थिए । श्रेष्ठको सोमबार राती सुतेको ठाउँमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











