हेटौँडा : मंगलबार बिहान रसुवा र नुवाकोट क्षेत्रमा बाढीको क्षतिको अवस्था बुझ्न बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नुवाकोट पुग्नुभएको छ । मंगलबार बिहानै काठमाडौं हुँदै नुवाकोट पुग्नुभएका मुख्यमन्त्री लामा रसुवा पुग्ने जनाइएको छ । रसुवामा गएराति अविरल वर्षासँगैको बाढीको क्षतिको अवस्था बुझ्न मुख्यमन्त्री लामा घटनास्थल पुग्नुभएको हो ।
गृहजिल्ला नुवाकोटमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरुसँग मुख्यमन्त्री लामाले घटनाबारे बुझ्नुभएको छ । मुख्यमन्त्री लामाले सुरक्षा निकायहरुलाई विपद् उद्दारमा सक्रिय रुपमा लाग्न र स्रोत साधनका लागि प्रदेश सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको छ । तत्काल राहत वितरणको अवस्था नरहेकाले हाललाई सुरक्षित रुपमा नागरिकलाई राख्न प्रहरी प्रशासनलाई सक्रिय बनाउने तथा स्रोत साधनको व्यवस्थापनमा लागेको उहाँले बताउनुभयो ।
उद्दार र राहतका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत् संघीय सरकारको गृह मन्त्रालय र विपद् प्राधिकरणसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । बाढीका कारण रसुवा गढी हाइड्रोसहित नागरिकको घर तथा संरचनाहरुमा क्षति पुगेको र केही व्यक्तिहरु हराइरहेको जानकारी प्राप्त गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार बाढीका कारण त्रिशुली हाइड्रो पावर समेत बन्द भएको छ ।











