हेटौंडाः साहित्यकार स्वर्गीय अप्सरा तिम्सिना लम्सालको जीवनीमा आधारित वृत्तचित्र हेटौंडाको युट्युब च्यानल एन.एस. टेलिभिजनले आज सार्वजनिक गरेको छ । एन.एस. टेलिभिजनका सम्पादक महेन्द्र ओझाको छायाङ्कन/सम्पादन र कृष्ण मरासिनीको चित्र सजावट रहेको वृत्तचित्र भर्चुअल कार्यक्रमका बीच आज सार्वजनिक गरिएको हो ।
२०३० साल कात्तिक २८ गते ओखलढुंगामा जन्मनुभएकी अप्सरा तिम्सिनाको २०७६ साल साउन १२ गते हेटौंडामा मृत्यु भएको थियो । एसएलसीसम्म ओखलढुंगामा पढेर उहाँ हेटौंडामा आई हेटौंडा क्याम्पसबाट कक्षा ११ देखि एमएड तहसम्मको अध्ययन गर्नुभएको थियो । वृत्तचित्रमा उहाँको बाल्यकालदेखि मृत्युसम्मको गतिविधिहरुलाई समेटिएको छ । उहाँ साहित्यकारको साथै शिक्षक पनि हुनुहुन्थ्यो । उहाँ मकवानपुरको विभिन्न साहित्यिक संस्थाहरुमा आवद्ध हुनुहुन्थ्यो । मकवानपुरका नारी साहित्यकारहरुको साहित्यिक संस्था आँचल साहित्य कला पुञ्ज स्थापना गर्नमा उहाँको महत्वपूर्ण भूमिका भएको हाल आँचल साहित्य कला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेले बताउनुभयो ।
उहाँ आँचल साहित्य कला पुञ्जमा एक कार्यकाल संस्थापक उपाध्यक्ष, दुई कार्यकाल अध्यक्ष, साहित्य संगम मकवानपुरको उपाध्यक्ष, सिस्नुपानी नेपाल मकवानपुरको कोषाध्यक्ष, भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानकी कोषाध्यक्ष, मातृभूमिकी आजीवन सदस्य र प्रलेस मकवानपुरकी साधारण सदस्य रहनु भएकी अप्सराले साहित्यमा अग्रस्थानमा रहेर आफ्नो कुशलताको उदाहरण पस्कनु भएको साहित्यकारहरुको भनाइ वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।