विद्यालय कप्तान निर्वाचित गुराँस वाईबा ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा बालबालिकालाई विद्यालयप्रति जिम्मेवार र अनुशासित बनाउन सदन विभाजन गरी नेतृत्वका लागि आइतबार निर्वाचन सम्पन्न भएको छ । विद्यालय स्थापनाको ५० औं वार्षिकोत्सव मनाइरहेको विद्यालयमा कप्तान, उपकप्तान तथा सदनगत कप्तान र उपकप्तान चयनका लागि विद्यालयमा पहिलो पटक निर्वाचन भएको हो ।

निर्वाचनबाट १ सय ३९ मत प्राप्त गर्दै गुराँस वाईबा विद्यालय कप्तान निर्वाचित भएकी छन् । उनँको निकटतम प्रतिष्पर्धी पल्कु दोर्जे डिमडुङले ६९ मत पाएका थिए । त्यस्तै विद्यालय उपकप्तानका लागि भएको निर्वाचनमा अमन पाख्रिनले १ सय ९४ मतसहित विजेता बने । उनका निकटतम् प्रतिष्पर्धी नवीन भण्डारीले ४५ मत प्राप्त गरे । २०३२ सालमा सरकारी स्वीकृति पाएको यो विद्यालयले २०८१ मंसिरदेखि स्वर्ण वर्षका क्रममा विविध कार्यक्रम गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले जानकारी दिनुभएको छ ।

सगरमाथा सदनका लागि भएको निर्वाचनमा सौरभ अर्याल कप्तान तथा क्रिजन उप्रेती उपकप्तान चयन भएका छन् । त्यस्तै माछापुच्छ्रे सदनका लागि रोशनी बर्तौला कप्तान तथा विश्वास बल उपकप्तान चयन भएका छन् । अन्नपूर्ण सदनका लागि अन्जिना गिरी कप्तान, अस्मिता स्याङ्तान उपकप्तान निर्वाचित भएको विद्यालयका मुख्य निर्वाचन अधिकृत भानुभक्त आचार्यले जानकारी दिनुभयो ।

गौरीशंकर सदनका लागि एकल उम्मेद्वारी परेका कारण बिहीबार नै सदन कप्तानमा श्रीराम तिवारी र उपकप्तानमा जस्टेन सुनार निर्विरोध निर्वाचित भएको विद्यालयका सूचना अधिकारी रामचन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । विद्यालय सदन नेतृत्वका लागि पहिलोपटक भएको निर्वाचनमा बालबालिकाले उत्साहजनक रुपमा सहभागिता जनाएको विद्यालय व्यवस्थापन समितिका सदस्य मुकुन्दप्रसाद सुवेदीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले बालबालिकाको निर्वाचनको पर्यवेक्षण गरेको थियो । विद्यालयका प्रधानाध्यापक सपना लामाले बालबालिकालाई विद्यालयमा जिम्मेवार र अनुशासित बनाउन र निर्वाचनको प्रक्रियाका बारेमा जानकारी दिनका कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।