बजेट प्रस्तुत गर्नुअघि पालिका अध्यक्ष धर्मराज लामिछाने (बीचमा), उपाध्यक्ष भक्तबहादुर खत्री (दायाँ) फोटो खिचाउँदै ।

हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबार सम्पन्न एघारौँ गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर खत्रीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गर्नुभएको बजेट चालु आवको भन्दा एक करोड ८७ लाख ४९ हजार कम हो ।

संघीय संसदको झल्को दिने गरी बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष कार्यपालिका सदस्यका लागि ८ लाखको दरले ४८ लाखको योजनाका लागि बजेट छुट्याएको छ । बकैयाले चालु आर्थिक वर्षका लागि ९३ करोड ५९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार रुपैयाँ तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २१ करोड ३० लाख २५ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

विनियोजित बजेट मध्ये पूँजीगत खर्चतर्फ २८ करोड ६ लाख ९१ हजार, चालुतर्फ ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै नेपाल सरकारबाट सशर्त अनुदान ३६ करोड ६८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदान २ करोड ९५ लाख ५० हजारसहित जम्मा ३९ करोड ६३ लाख ५० हजार प्राप्त रकमलाई खर्च गरिने उल्लेख छ । पूर्वाधार निर्माण गर्न ५ करोड, पोषणमैत्री स्थानीय तह घोषणा गर्न ७५ लाख, चिस्यानकेन्द्र निर्माण गर्न ६५ लाख, हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडामा ४० लाखका दरले ४ करोड ८० लाख बजेट विनियोजन गरेको छ । कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड, कृषि औद्योगिक ग्रामको भौतिक संरचना निर्माणका लागि २ करोड ५० लाख, कोल्ड स्टोर निर्माण गर्न अनुदानसहित एक करोड ३० लाख बजेट बिनियोजन गरिएको छ । पालिकाले ल्याएको बजेटमा कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको हो ।

एघारौँ गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारी तथा उपभोक्तालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । उत्कृष्ट उपभोक्ता समितिको रुपमा बकैया–१ को कत्लेखोला कल्भर्ट निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायीमा विएण्ड वी कन्स्ट्रक्सन, करदातामा कुमार रोशन सिचुआन जेभी, गैरसरकारी संस्थातर्फ इस्थर बेञ्जामिन स्मृति संस्था तथा उत्कृष्ट रोजगारदाता शिवपुरी फ्रेस डेरीलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट कर्मचारीतर्फ बकैया–६ मा रहेको जुइना आधारभूत स्वास्थ्य केन्द्रका कार्यालय सहयोगी शान्ति पाख्रिन, ११ नम्बर वडा कार्यालयका कार्यालय सहयोगी शेरमान गोले, हात्तिसुडे आधारभूत स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक चन्द्रबहादुर भ्लोनलाई नगद पाँच हजारसहित पुरस्कृत गरिएको थियो ।

शिक्षातर्फ बकैया–५ स्थित किसान जागरुक सिद्धार्थ प्राविका शिक्षिका सम्झना रुम्बा, कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया–७ माटोकोरी आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद बोलखे, एसईई र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल बकैया–९ बाघभैरव माविका रमेश कुमार लामालाई नगद पाँच हजारसहित सम्मान गरिएको छ ।

यस्तै सिमात आधारभूत स्वास्थ्य केन्द्रमा निरन्तर विवादरहित सेवा खोप तथा गाउँघर क्लिनिकलाई प्राथमिकतामा राखी कार्य गर्ने बिनाकुमारी स्याङ्तान, पशु विकास सेवातर्फ रामकृष्ण तिमल्सिना, कृषि विकास सेवातर्फ भावना अधिकारी, प्राविधिक कर्मचारीतर्फ मोहमद मेराज आलम, वडा सचिवतर्फ युवराज ठाडा मगरलाई नगद पाँच हजारसहित सम्मान गरिएको छ । सर्वोत्कृष्ट कर्मचारीतर्फ सहायक प्रहरी निरीक्षक प्रमोद थापालाई नगद १० हजारसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्ता बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ लगायतकाले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा पालिका कर्मचारीहरुको सहभागिता रहेको थियो ।