नगरसभालाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडा : बैशाख पहिलो साता एउटा सैलुनलाई एसी र इन्भर्टर दिन तोक आदेश गरिएको विषयलाई लिएर हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा निक्कै विवादमा पर्नुभयो । एसी र इन्भर्टर दिने विषयमा व्यापक आलोचना भएपछि नगरप्रमुख लामाले अन्तरवार्ताका क्रममा पत्रकारलाई पत्रुकार समेत भन्नुभयो ।

आज पनि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको जुनसुकै सन्दर्भमा एसी काण्डको स्मरण हुने गर्दछ । नगरप्रमुख लामाले पनि सार्वजनिक कार्यक्रम, भेटवार्तामा एसी काण्डबारे आफ्नो स्पष्टीकरण दिँदै आउनुभएको छ । सोही क्रममा मंगलबार १७औं नगर सभामा पनि नगरप्रमुख लामाले एसी काण्ड उप्काउनुभएको छ ।

मंगलबार नगर सभाको समापनको क्रममा नगरप्रमुख मीना कुमारी लामाले निधारको पसिना पुछ्दै भन्नुभयो, ‘कपाल काट्दा फाइनले कपाल उडायो, फोहोर भयो भन्दै एसी भएको ठाउँमा कपाल काट्ने भनेर जान्छौं । तर युवाहरुलाई कपाल कपाल काट्ने ठाउँमा एसी सहयोग गर्न खोज्दा उपद्रै गर्‍यो, मेयरले मिलेर खायो भन्छन् । यस्तो समाजलाई पनि हामीले निकाल्नु छ । त्यो समाजलाई डोर्‍याउनु छ ।’