सीप मेलाबारे जानकारी दिनुहुँदै बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल ।

हेटौँडा : हेटौँडामा असार १२ र १३ गते ‘सीप महोत्सव २०८२’ आयोजना हुने भएको छ । बागमती प्रदेशमा उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक मानव संसाधन र हाल बजारमा उपलब्ध जनशक्तिबीचको खाडल पुर्दै रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूबीच सामञ्जस्य कायम गर्ने उद्देश्यका साथ महोत्सव आयोजना हुने भएको हो ।

बागमती प्रदेश उद्योग परिसंघ र सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा हेटौँडाको रोयल प्यालेसमा सीप महोत्सव आयोजना गर्न लागिएको हो । बागमती प्रदेश उद्योग परिसंघले शनिबार पत्रकार सम्मेलन गरेर महोत्सवको विषयमा जानकारी गराएको छ । बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलले महोत्सवले सीप विकासका विविध आयामहरूलाई प्रवद्र्धन गर्ने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन क्षेत्रका १८ जना प्रतिस्पर्धीले बागमती प्रदेशस्तरीय सीप प्रतियोगितामा भाग लिनेछन् ।

कार्यक्रममा इलेक्ट्रिकल र बाल विकास सहजीकरण विधामा तालिम, एक हजारभन्दा बढी विद्यार्थी तथा युवाहरूका लागि साइकोमेट्रिक परीक्षण, वृत्ति परामर्श सत्र, र उद्योग भ्रमण समावेश गरिएको उहाँले जानकारी दिनुभयो । यसका साथै, उत्कृष्ट प्रशिक्षार्थी, शिक्षण संस्था र उद्योग संघहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ । बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलले यस महोत्सवलाई कार्यक्रम मात्र नभएर एउटा अभियानको संज्ञा दिनुभएको छ । उहाँले यसले सरकार, उद्योग, प्राविधिक शिक्षण संस्था र युवालाई एकै मञ्चमा ल्याएर सीपको माध्यमबाट राष्ट्रिय उन्नति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरेलले यस अवसरमा विदेश पलायन रोक्न, स्वदेशमै दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख घनश्याम खनालले सीप महोत्सव आयोजनाले प्रदेशभरिका युवाहरूलाई प्राविधिक शिक्षा, व्यावसायिक तालिम र कार्यमूलक प्रशिक्षण कार्यक्रमका अवसरहरूसँग परिचित गराउने बताउनुभयो । उहाँले प्रशिक्षण कार्यक्रम मार्फत उद्योग र शैक्षिक संस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको पनि उल्लेख गर्नुभयो । इन्स्योर परियोजना (हेल्भेटास नेपाल) को प्राविधिक सहयोगमा आयोजना भइरहेको यस कार्यक्रममा होटल एसोसिएसन नेपाल, नाडा अटोमोबाइल्स एसोसिएसन, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटिइभिटी) लगायतका संस्थाहरूले सहयोग रहने जनाइएको छ ।