मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेर प्रमाणपत्र हस्तान्तरण गरिँदै ।

हेटौँडा : मकवानपुर जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । यसै क्रममा जिल्लाका ९ वटा पालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा भइसकेका छन् भने हेटौँडा उपमहानगरपालिकालाई यही असार ११ गते पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने भएको छ ।

यसअघि मकवानपुरका ९ वटा पालिका पछिल्लो दुई साताको अवधिमा पूर्णखोप सुनिश्चित पालिका घोषणा भइसकेको छ । भीमफेदी गाउँपालिका जेठ २६ गते, बकैया गाउँपालिका जेठ २८ गते, बागमती गाउँपालिका जेठ २९ गते, कैलाश गाउँपालिका जेठ ३० गते, थाहा नगरपालिका र गढी गाउँपालिका असार ३ गते, इन्द्रसरोवर गाउँपालिका र राक्सिराङ गाउँपालिका असार ४ गते तथा मनहरी गाउँपालिका असार ५ गते पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका, जनस्वास्थ्य निरीक्षक बासुदेव रिमालका अनुसार मकवानपुर जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणाका लागि जिल्ला खोप समन्वय समितिबाट प्रदेशको खोप समन्वय समितिलाई प्रमाणीकरणका लागि सिफारिस गरिएको छ । प्रमाणीकरण भएपश्चात् जिल्ला पूर्णखोप सुनिश्चित भई दिगोपना योजनाका लागि तयारी गरिने उहाँले बताउनुभयो ।