हेटौँडा : मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले समाचार संकलनको क्रममा सञ्चारकर्मीलाई अवरोध गरेको भन्दै आलोचना भएको छ । शुक्रबार समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका सञ्चारकर्मीलाई प्रजिअ श्रेष्ठले दृश्य कैद नगर्न भनेपछि सञ्चारकर्मीले प्रतिवाद गरेका थिए ।
नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, कार्यकर्ताले फरक फरक मुद्दामा ज्ञापनपत्र बुझाउन जाँदा प्रजिअ श्रेष्ठले सञ्चारकर्मीलाई क्यामरामा दृश्य कैद नगर्न भन्नुभएपछि विवाद भएको थियो । प्रजिअ श्रेष्ठले सार्वजनिक कार्यक्रमको भिडियो खिच्न अनुमति नभएको र माथिको निर्देशन रहेको भन्दै फोटो मात्र खिच्न भन्नुभएको थियो । रास्वपा मकवानपुरका अध्यक्ष भरत पराजुलीसहितको टोलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाउने क्रममा समेत दृश्य खिच्न रोक लगाइएको थियो ।
नेपाली कांग्रेस हेटौँडा उपमहानगर समिति र हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणको घटनाबारे ध्यानाकर्षण गराउन जाँदा पनि प्रजिअ श्रेष्ठले दृश्य छायांकनमा रोक लगाउनुभएको थियो । प्रजिअले दृश्य खिच्न रोक लगाउनुभएको घटनाको नेपाल पत्रकार महासंघ मकवानपुर, स्वतन्त्र पत्रकार संघ मकवानपुर, नेपाल प्रेस युनियन मकवानपुर, प्रेस सेन्टर नेपाल मकवानपुर र प्रेस चौतारी नेपाल मकवानपुर शाखाले विराध गर्दै विज्ञप्ति जारी गरेका छन् । संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डको गम्भीर उल्लंघन भएको पत्रकार संगठनहरुले ठहर गरेका छन् ।
सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस्तो व्यवहार लोकतान्त्रिक मूल्य, मान्यता विपरित भएको र यसले प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकमाथि कुठाराघात गरेको उनीहरूको ठहर छ । पत्रकार संगठनहरूले यस्ता प्रेस विरोधी गतिविधि आगामी दिनमा नदोहो¥याउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न प्रजिअ श्रेष्ठ लगायत सम्बन्धित सबै निकायलाई माग गरेका छन् ।











