हेटौँडा: अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमीमा रहेका विद्यार्थी खेलाडीलाई नयाँ जर्सीसहित खेल सामग्री उपलब्ध गराएको छ । हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीमा रहेका एन्फा एकेडेमीका खेलाडीलाई एन्फाले उपलबध गराएको नयाँ जर्सीसहितको खेल सामग्री बुधबार हस्तान्तरण गरिएको छ ।
हेटौँडा एकेडेमीका अध्यक्ष एवम् एकेडेमीका संयोजक अरुणराज सुमार्गी, सहसंयोजक अमृत लुङबाले खेलाडीलाई जर्सी हस्तान्तरण गर्नुभएको हो । एन्फा एकेडेमीमा २८ जना विद्यार्थी आवद्ध छन् । उनीहरुले दैनिक रुपमा हेटौँडा–४, हुप्रचौर र हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा प्रशिक्षण गर्दै आएका छन् । एन्फाले एकेडेमीका खेलाडीका लागि जर्सी, जुराफ, बिप्स, कर्नर फ्ल्याग, २ वटा म्याच बल, नि–प्याड, अफिसियल टिसर्ट उपलब्ध गराएको छ ।
जर्सी हस्तान्तरण कार्यक्रममा एकेडेमीका संयोजक सुमार्गीले एन्फाले आवासीय प्रशिक्षक उपलब्ध नगराएको भन्दै गुनासो गर्नुभयो । विद्यालयले आफ्ना प्रशिक्षकमार्फत पनि प्रशिक्षण गराइरहेको सुमार्गीले बताउनुभयो । विद्यालयको खेल मैदान मर्मतको कार्य भइरहेकोले हुप्रचौर वा पिप्ले–क्याम्पा रंगशालामा अभ्यासका लागि लैजान बाध्य भएको उहाँले बताउनुभयो ।











