मावन जीवनमा रगतको महत्व धेरै छ । मानव शरीरभित्र विभिन्न जीवन प्रक्रिया सञ्चालनका लागि रगतको भूमिका महत्वपूर्ण हुन्छ । रगतको कमी भएमा वा रगतमा अन्य समस्या भएमा मानिस स्वस्थ रहन सक्दैन । रगतकै कमीले धेरै मानिसले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था बन्ने गरेको छ । मानव शरीरलाई आवश्यक रगतको सहज उपलब्धताका लागि रक्तदानमार्फत् रगत संकलन गर्ने गरिएको छ । कुनै व्यक्तिले प्रदान गरेको स्वस्थ रगतले अर्को व्यक्तिको ज्यान बचाउन सक्ने भएकाले रक्तदानलाई जीवनदान पनि भन्ने गरिएको छ । रक्तदान गर्ने व्यक्तिको सम्मान र रक्तदानको महत्वबारे सचेतना जगाउनका लागि हरेक वर्ष विश्वभर जुन १४ मा विश्व रक्तदाता दिवस मनाइन्छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिनको अवसर पारेर रक्तदाता दिवस मनाउन थालिएको बताइन्छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

रक्तदाता दिवसलाई रक्तदान दिवसको रुपमा पनि मनाउने गरिएको छ । यस दिवसका अवसरमा रक्तदान कार्यक्रमसहित रक्तदानको महत्वबारे जानकारी दिन र्याली, सभा, प्रभातफेरीलगायत चेतनामूलक कार्यक्रमहरु आयोजना गरिँदै आएको छ । यसवर्ष गत शनिबार हेटौंडामा विश्व रक्तदाता दिवस मनाइएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयको आयोजनामा रक्तदातालाई सम्मान र रक्तदान कार्यक्रम गरेर २१ औं विश्व रक्तदाता दिवस मनाइएको हो । कार्यक्रममा दुई जना उत्कृष्ट रक्तदाता, एक जना दूर्लभ रक्तसमूहको रक्तदाता र धेरै रक्तदाता सहभागी गराई रक्तदान गराउने ३ वटा संस्थालाई सम्मान गरिएको छ । रक्तदान कार्यक्रम आयोजना गर्ने ९० वटा संघसंस्थालाई प्रशंसापत्र प्रदान गरियो । सोही अवसरमा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् ।

जीवित मानिसको शरीरमा रक्तसञ्चार भइरहेको हुन्छ । शरीरमा निरन्तर सञ्चार भइरहने रगतकै सहायताबाट मानिसले श्वासप्रश्वास क्रिया गर्दछ । रगतबाट नै शरीरमा शक्ति प्रवाह हुन्छ । मानव शरीरमा तरल अवस्थामा रहने रगत रातो तथा सेतो रक्तकोष र प्लेटलेट्स मिलेर बनेको हुन्छ । रातो रक्तकोषले शरीरमा अक्सिजन परिवहनमा सघाउँछ भने सेतो रक्तकोषले रोगविरुद्ध लड्ने क्षमता विकास गर्छ । प्लेटलेट्सले घाउचोट लाग्दा रगत जमाएर स्राव कम गर्न मद्दत गर्दछ । मानिसको शरीरमा दुर्घटना, चोटपटक, घाउ, रोग आदिबाट रगतको कमी हुने गर्दछ । रगतको कमी भएपछि तत्काल शरीरमा रगत दिन सकिएन भने मानिसको ज्यान जानसक्छ । हरेक मानिसमा ए, बी, ओ र एबी समूहको पोजेटिभ/नेगेटिभ मध्ये कुनै एक प्रकारको रगत हुन्छ ।

विश्वमा हरेक वर्ष करोडौं मानिसलाई रगतको आवश्यकता परिरहेको हुन्छ । एउटा मानिसलाई आवश्यक परेको रगत अर्को मानिसले मात्र दिनसक्छ । अर्थात् हालसम्म कृत्रिम रगतको विकास भएको छैन । मानिसको जीवन रक्षा गर्ने रगत प्रदान गर्ने रक्तदाताको महत्वलाई सबैले बुझ्नुपर्छ । निःस्वार्थ भावनाले रक्तदान गर्दै आएका रक्तदाताको उचित सम्मान हुनु आवश्यक छ । नेपालमा नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार केन्द्रहरु (ब्लड बैंक) स्थापना गरी सहज र निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । रेडक्रसको यस पुण्य कार्यमा रक्तदाताको भूमिका महत्वपूर्ण रहेको छ । आफ्नो शरीरको रगत दिएर अरुको जीवन बचाउने रक्तदाताहरुको योगदान अतुलनीय छ । एक दिन रक्तदाता दिवस मनाएरमात्र रक्तदाताको वास्तविक सम्मान हुन सक्दैन । नियमित रक्तदाताको उचित सम्मानबाटै अरुलाई पनि रक्तदान गर्न प्रेरित गर्ने भएकाले रक्तदातालाई विशेष सम्मान र सुविधा दिनु उचित हुनेछ ।