हेटौँडा : मकवानपुर जिल्लामै पहिलो पटक आर्चरी खेलको तालिम भएको छ । जेठ १५ गतेबाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको छ । मकवानपुर आर्चरी क्लबको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा तालिम भएको हो । हेटौँडा–४ स्थित हेटौँडा आर्चरी सेन्टरमा प्रशिक्षण भएको हो ।
तालिममा २० महिला र २६ जना पुरुषको सहभागिता रहेको थियो । तालिममा रुपन्देहीका भगत गुरुङ र मकवानपुरकै रेणु लामाले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । मकवानपुरका लागि नयाँ र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पनि राम्रो सम्भावना भएकोले प्रशिक्षणको कार्यक्रम सञ्चालन गरिएको मकवानपुर आर्चरी क्लबका अध्यक्ष राजेश ढुंगानाले जानकारी दिनुभयो । प्रशिक्षणका क्रममा सम्भावना भएका खेलाडीहरु पनि देखिएको र नियमित प्रशिक्षणमा सहभागी हुँदा ती खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शनको आशा गर्न सकिने ढुंगानाको भनाइ छ ।
तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, हेटौँडा उपमहानगर खेलकुद विकास समितिका सदस्य विनोद रायाको पनि आतिथ्य रहेको थियो ।











