मतपत्र वितरण गर्नुहुँदै शिक्षकहरु (बायाँ), मतदान गर्दै एक विद्यार्थी (दायाँ) ।

हेटौँडा : हेटौँडाका ३ वटा विद्यालयमा आज शुक्रबार एक साथ निर्वाचन कार्यक्रम भइरहेको छ । विद्यार्थीको नेतृत्व तथा व्यक्तित्व विकास एवम् निर्वाचन प्रक्रियाका विषयमा विद्यार्थीलाई अभिमुखीकरण समेत हुने उद्देश्यले हेटौँडाका विद्यालयहरुमा कप्तान, उपकप्तान चयनका लागि निर्वाचनको अभ्यास भइरहेको छ ।

शुक्रबार बिहान हेटौँडा–४ स्थित भुटनदेवी माविमा निर्वाचन कार्यक्रम भएको छ । बिहान साढे ८ बजेबाट मतदान सुरु भएर मध्यान्ह १२ बजेसम्म मतदानको कार्य भएको थियो । भुटनदेवी माविमा ६ कक्षादेखि १० कक्षासम्मका १ हजार २ सय ६५ जना विद्यार्थी मतदाता थिए । ९ सय २९ जना (७३.९ प्रतिशत) विद्यार्थीले मतदान गरेको शिक्षक सुमन श्रेष्ठले जानकारी दिनुभयो । विद्यालय कप्तानमा ५ जना उम्मेदवारी रहेको छ भने उपकप्तानमा ४ जनाको उम्मेदवारी रहेको छ । ४ वटा सदनको कप्तान र उपकप्तानको पनि निर्वाचन भएको छ ।

भुटनदेवी माविले निर्वाचनका लागि आवश्यक सामग्री निर्वाचन आयोगको कार्यालयबाटै ल्याएर प्रयोग गरेको छ । निर्वाचन कार्यक्रममा बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको पनि आतिथ्य रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष नवीन सिग्देलसहित विद्यालय व्यवसथापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका पदाधिकारीले पनि निर्वाचन कार्यक्रमको अवलोकन गरेका थिए ।

यस्तै आजै हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदन र हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कुलमा पनि विद्यालय कप्तान र उपकप्तान चयनका लागि निर्वाचन हुँदैछ ।