हेटौंडाः आज बिहान प्राप्त रिपोर्टअनुसार हेटौंडाका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो बुधबार नै पठाइएको नमूनामध्ये आज प्राप्त रिपोर्टअनुसार हेटौंडा–६ का ४९ वर्षीय पुरुष र हेटौंडा–१७ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईञ्चार्ज डा. अर्जुन खड्काले जानकारी दिनुभएको छ । आज संक्रमित भएका दुबैजना हेटौंडा अस्पतालको ज्वरो क्लिनिकबाट रेफर गरेर पठाइएका व्यक्तिहरु भएको डा. खड्काले बताउनुभएको छ ।
आइसोलेसन वार्डमा अहिले कोरोना संक्रमित ९ जना उपचाररत छन् । आजै आइसोलेसन वार्डबाट ३४ पुरुष र १७ महिलासहित ५१ जनाको स्वाब कोरोना परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालित प्रयोगशालामा पठाइएको छ ।