हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले आफू युवाले गर्ने रचनात्मक काममा सधैं साथै रहने बताउनुभएको छ । बिहीबार हेटौँडा–४, हुप्रचौरमा चियालयको उद्घाटन गर्नुहुँदै नगरप्रमुख लामाले युवालाई प्रोत्साहन गर्न खोज्दा आलोचना भएको स्मरण गर्नुहुँदै भन्नुभयो, ‘मेरै छोराले कपाल काट्नु पर्यो भने त बरु खाडी जान्छु भन्यो । हेटौँडाकै युवाले कपाल काट्ने काम गरिरहेको देख्दा सहयोग गर्न खोजेको विषयमा आलोचना भयो । आलोचना भए पनि म युवाले गर्ने काममा सधैं सहभागी भइरहन्छु ।’
युवाले मुलुकमै केही गर्छु भनिरहँदा आफू सधैं साथमै रहने उहाँले बताउनुभयो । केही समयअघि नगरप्रमुख लामाले हेटौँडाको एक सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्न खोज्नुहुँदा सर्वत्र आलोचना भएको थियो । तीव्र आलोचना भइरहेका बेला न्यूज २४ का पत्रकारसँगको टेलिफोन अन्तरवार्तामा नगरप्रमुख लामाले पत्रकारलाई पत्रुकार समेत भनेर दूव्र्यवहार गर्नुभएको थियो । यद्यपि नगरप्रमुख लामा सैलुनलाई एसी र इन्भर्टर दिने काम ठिक थियो भन्ने आशयमा विभिन्न कार्यक्रममा उक्त सन्दर्भलाई उल्लेख गर्ने गर्नुहुन्छ ।
हेटौँडाका दुई युवा फिरोज खान र जेके श्रेष्ठको संयुक्त लगानीमा चियालय हस्पिटालिटी एकेडेमी सञ्चालनमा आएको हो । एक कठ्ठा जमिन भाडामा लिएर करिब ६० लाख रुपैयाँ लगाीनामा चियालय सञ्चालन गरिएको हो । चिया, कफि, खाजाको सेवासँगै कफि बारिष्टा, फुड एण्ड वेभरेजसम्बन्धी तालिम समेत प्रदान गरिने सञ्चालक फिरोज खानले बताउनुभएको छ । ११ वर्ष दक्षिण कोरियामा काम गरेर फर्कनुभएका जेके श्रेष्ठले आफ्नै ठाउँमा व्यवसाय सुरुवात गर्ने योजनाअनुसार चियालयको परिकल्पना गरिएको जेके श्रेष्ठले बताउनुभयो । चियालय उद्घाटन समारोहमा मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवनकुमार शाक्यको पनि आतिथ्य रहेको थियो ।











