हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले बुधबार हेटौँडा बजारको अनुगमन गरेर श्रममा रहेका ४ जना बालकको उद्दार गरेको छ । स्थानीय प्रशासन, नगर प्रहरी, श्रम कार्यालय, सिविन बालहेल्पलाइनका अधिकारीको सहभागितामा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा उद्दार गरिएका बालकलाई बालहेल्पलाइनको संरक्षणमा राखिएको छ ।
अनुगमनका क्रममा एक होटलबाट २ जना र दुई वटा पसलबाट २ जना बालकको उद्दार गरिएको हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशी महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ । उद्दार गरिएका ४ जना बालकमध्ये १ जना १५ वर्षको र ३ जना १६ वर्षको रहेका छन् । १५ वर्षीय बालक सर्लाही जिल्लाको धनकौल गाउँपालिका–५ हुन् भने होटलबाट उद्दार गरिएका २ बालक मकवानपुरगढी गाउँपालिका–४ का हुन् । यस्तै अर्का एक १६ वर्षीय बालक रौतहट जिल्लाको वृन्दावन नगरपालिका–४ का हुन् ।
यही जेठ २०, २१ र २२ गते पनि हेटौँडा उपमहानगरपालिकाले बालश्रम दुरुपयोग भए नभएको अनुगमन गरेको थियो । ३ दिन गरिएको अनुगमनमा १० जना बालकको उद्दार गरिएको थियो । उनीहरुलाई परिवारमा पुनस्र्थापित गरिएको हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशी महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ । बालश्रममुक्त पालिका घोषणा भइसकेको भए पनि हेटौँडा उपमहानगरपालिकामा बालबालिकालाई श्रममा लगाउने प्रवृत्ति कायमै छ । बालश्रम दुरुपयोग गर्नेहरुलाई १० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ ।











