हेटौँडा सिमेन्ट उद्योगको विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै मजदुर नेताहरु ।

हेटौँडा: हेटौँडा सिमेन्ट उद्योगका प्रशासक र मजदुरबीच विवाद भएको छ । रुग्ण बन्दै गएको उद्योगको खातामा केही रकम जम्मा भएसँगै त्यसको खर्चको विषयलाई लिएर प्रशासक र मजदुरबीच विवाद भएको देखिन्छ । आइतबार उद्योगका व्यवस्थापक र मजदुरबीच बैठकमै विवाद भएको हो । विवाद भएपछि मजदुर नेताहरु आक्रामक बनेसँगै विवाद चुलिएको हो ।

मजदुर संगठनका नेताहरुले उद्योगका प्रशासन प्रमुख रामबाबु साहमाथि आक्रामक बनेपछि विवाद चर्किएको हो । आइतबार दिउँसो ३ बजेदेखि उद्योगमै भएको छलफलमा विवाद बढेपछि साँझ साढे ५ बजेको समयमा बैठक सकिएको थियो । वैठकमा मजदुर नेताहरुको आक्रामक व्यवहारपछि प्रशासन प्रमुख रामबाबु साहले इलाका प्रहरी कार्यालय पशुपतिनगर पुगेर मजदुर नेताहरु विशाल नेपाल, नेमा डिम्डुङ र भवनाथ लामिछानेविरुद्ध उजुरी समेत दर्ता गराउनुभयो । ‘उद्योगको खातामा भएको रकम खर्च गर्ने विषयमा छलफल हुँदा मजदुर नेताहरुले आक्रामक भएर आए । मलाई मेरो सुरक्षाको चिन्ता भएपछि प्रहरीमा उजुरी दर्ता गरेँ’, प्रशासन प्रमुख साहले भन्नुभयो ।

यता मजदुर नेताहरु भने भनाभन भए पनि प्रहरीमा उजुरी गर्न जानुपर्ने अवस्था नभएको र उद्योगको वेथिति र समस्याको विषयमा बोलेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन नै गरेर उनीहरुले उद्योगका बेथितिका विषयमा समेत जानकारी गराएका छन् । मजदुर नेताहरुलाई उद्योग प्रवेशमा रोक लगाएको भन्दै हेटौँडा सिमेन्ट उद्योगका ३ वटा प्रमुख मजदुर संगठनले उद्योगका प्रशासन प्रमुख रामबाबु साहमाथि कारवाहीको माग गरेका छन् । साहले सिमेन्ट विक्री नै बन्द गराउनुका साथै मजदुर संगठनका नेताहरुलाई नै उद्योग प्रवेशमा रोक लगाएको भन्दै कारवाहीको माग गरेका हुन् । समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ र अखिल नेपाल औद्योगिक मजदुर संघले बुधबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर साहमाथि कारवाहीको माग गरेका हुन् ।

यता प्रशासन प्रमुख साहले भने आइतबार विवाद भएपछि सोमबारका लागि सिमेन्ट बिक्री रोके पनि अहिले विक्री सुचारु भइसकेको बताउनुभयो । मजदुर संगठनले उद्योगभित्र अनेकौं बेथिति रहेको जीकिर गरेका छन् । उद्योगको रोप–वे लिलामी, लिलामीबाट भएको आम्दानीले कच्चा पदार्थ खरिद गरी उद्योग चलाउने योजना विपरित वक्यौता भुक्तानी गरेको, उधारोमा बिक्री गरेको सिमेन्टको रकम असुली नगरेको मजदुर संगठनको आरोप छ । गत चैत महिनादेखि कर्मचारी तथा मजदुरको तलब भुक्तानी गर्न नसकेको उद्योगले कर्मचारीको सञ्चयकोष र नागरिक लगानी कोषको रकम पनि गत भदौदेखि दाखिला गर्न नसकेको बताइएको छ ।