बेलिब्रिज जडान भएपछि सवारी साधन आउजाउ गर्दै ।

हेटौँडा : हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ संचालनमा आएको छ । बागमती नदी अन्तर्गत बगुवामा बेलिब्रिज निर्माणपछि कान्ति लोकपथ सडक खण्ड आइतबार बिहानबाट सञ्चालनमा आएको हो ।

मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा शनिबार राति बेलिब्रिज जडान कार्य सम्पन्न गरिएको थियो । बेलिब्रिज निर्माणसँगै पुलबाट सवारी साधन चल्न थालेका छन् । गत वर्ष असोजमा आएको बाढीले बगुवास्थित बागमती पुलको मकवानपुरतर्फको पहुँच मार्ग बगाएको थियो । पुलको पहुँचमार्ग बगाएसँगै खोलाको बगरबाट डाइभर्सन निर्माण गरी सवारी साधन आवतजावत हुँदै आएको थियो । वर्षायाम सुरु भएसँगै बागमती खोलाको बाढीले डाइभर्सन बगाउने तथा सवारीसाधनमा क्षति पुग्न थालेपछि पटक–पटक सडक अवरुद्ध हुने गरेको थियो ।

गत बुधबारबाट कान्ति लोकपथ पूर्णरुपमा बन्द गरेर बेलिब्रिज राख्ने कार्य थालिएको थियो । ४ दिन सडक बन्द गरेर बेलिब्रिज हालिएको कान्ति लोकपथ सडक आयोजना कार्यालयले जनाएको छ ।