हेटौँडा :आगामी आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारबाट मकवानपुर जिल्लामा पौने पाँच अर्बको बजेट विनियोजन भएको छ । मकवानपुर जिल्लाका १० वटा स्थानीय तहमा संघीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत् झण्डै पौने पाँच अर्ब रुपैयाँ बजेट पाउने भएको हो ।
समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र पुँजीगत प्रकृतिका समपूरक अनुदानका रुपमा मकवानपुर जिल्लाका लागि संघीय सरकारले ४ अर्ब ७४ करोड २५ लाख बजेट विनियोजन गरेको छ । समानीकरण अनुदानतर्फ एक अर्ब २७ करोड ११ लाख, सशर्त अनुदानतर्फ ३ अर्ब १५ करोड ८२ लाख, विशेष अनुदानतर्फ १४ करोड ७३ लाख र समपूरक अनुदानतर्फ १६ करोड ५९ लाख रुपैयाँ बजेट मकवानपुर जिल्लामा आउने भएको छ ।
संघीय सरकारले उपलब्ध गराउने समानीकरण अनुदानमध्ये सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका र सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले पाउनेछ । हेटौँडाले २९ करोड ७६ लाख समानीकरण अनुदान पाउँदा इन्द्रसरोवरले ७ करोड ११ लाख रुपैयाँमात्र पाउने भएको हो । जिल्लाका थाहा नगरपालिकाले १२ करोड ३९ लाख, कैलाश, बकैया र बागमती गाउँपालिकाले क्रमशः ९ करोड ८३ लाख, १२ करोड ९५ लाख र ११ करोड ७० लाख रुपैयाँ समानीकरण अनुदान पाउनेछन् । यस्तै, भीमफेदी गाउँपालिकाले १० करोड ५२ लाख, मकवानपुरगढी गाउँपालिकाले १० करोड ७ लाख, मनहरी गाउँपालिकाले १२ करोड ५३ लाख र राक्सिराङ गाउँपालिकाले १० करोड २५ लाख रुपैयाँ समानीकरण अनुदान पाउनेछन् ।
सशर्त अनुदानतर्फ पनि सबैभन्दा बढी हेटौँडा उपमहनागरपालिकाले ८३ करोड ४९ लाख रुपैयाँ पाउने भएको छ । सबैभन्दा कम सशर्त अनुदान पाएको इन्द्रसरोवर गाउँपालिकाको भागमा १२ करोड ८१ लाख रुपैयाँ रहेको छ । थाहा नगरपालिकाले ३१ करोड ६६ लाख र कैलाश गाउँपालिकाले १९ करोड ३४ लाख रुपैयाँ विशेष अनुदान पाउने भएका छन् । बकैयाले ३६ करोड ६८ लाख, बागमतीले २९ करोड ६१ लाख र भीमफेदीले ३० करोड १४ लाख विशेष अनुदान पाउनेछन् । यस्तै, मकवानपुरगढीले २९ करोड ४ लाख, मनहरीले २२ करोड ४४ लाख र राक्सिराङ गाउँपालिकाले २० करोड ६१ लाख सशर्त अनुदान पाउने भएका छन् ।
जिल्लाको स्थानीय तहमध्ये सबैभन्दा बढी र कम विशेष अनुदान क्रमशः बागमती र भीमफेदी गाउँपालिकाले पाउने भएका छन् । बागमतीले ३ करोड ८५ लाख विशेष अनुदान पाउँदा भीमफेदीले ५५ लाख रुपैयाँमात्र पाउने भएको हो । हेटौँडाले १ करोड ५० लाख, थाहाले २ करोड, इन्द्रसरोवरले ६८ लाख, कैलाश र बकैयाले ७५/७५ लाख रुपैयाँ विशेष अनुदान पाउने भएका हुन् । यस्तै, मकवानपुरगढीले २ करोड, मनहरीले ९० लाख र राक्सिराङले एक करोड ७५ लाख विशेष अनुदान पाउनेछन् ।
संघीय सरकारले प्रदान गर्ने पुँजीगत प्रकृतिका समपूरक अनुदानमध्ये सबैभन्दा बढी हेटौंडाले ४ करोड ७५ लाख पाउनेछ । सबैभन्दा कम समपूरक अनुदान पाउने थाहा नगरपालिकाले ४९ लाख पाउने भएको छ । इन्द्रसरोवरले ७६ लाख, कैलाशले २ करोड ५८ लाख र बकैयाले एक करोड समपूरक अनुदान पाउनेछन् । बागमतीले ९० लाख, भीमफेदीले ३ करोड ४१ लाख र मकवानपुरगढीले एक करोड ५० लाख समपूरक अनुदान पाउँदा मनहरी र राक्सिराङले क्रमशः ५२ लाख र ६८ लाख रुपैयाँ पाउने भएका छन् ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट सबै शीर्षकमा हेटौँडा उपमहानगरपालिकाले एक अर्ब १९ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । थाहा नगरपालिकाले ४६ करोड ५४ लाख बजेट पाउँदा बकैया गाउँपालिकाले ५१ करोड ३८ लाख प्राप्त गर्नेछ । बागमती गाउँपालिकाले ४६ करोड ६ लाख र भीमफेदी गाउँपालिकाले ४४ करोड ६२ लाख बजेट संघीय सरकारबाट पाउने भएका हुन् । यस्तै, मकवानपुरगढीले ४२ करोड ६१ लाख र मनहरीले ३६ करोड ३९ लाख बजेट प्राप्त गरेका छन् । राक्सिराङ र कैलाश गाउँपालिकाले क्रमशः ३३ करोड ३९ लाख र ३२ करोड ५० लाख रुपैयाँ संघीय सरकारबाट पाउनेछन् । जिल्लाको इन्द्रसरोवर गाउँपालिकाले २१ करोड ३६ हजार रुपैयाँ बजेट प्राप्त गर्नेछ ।











