हेटौँडा : हेटौँडामा जारी पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि हेटौँडा–३ र हेटौँडा–७ भिड्ने भएका छन् । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हेटौँडा–३ ले हेटौँडा–१५ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विजयी टिमका तर्फबाट निरब घलान र विजय दोङले एक/एक गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका निरब घलान खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद दुई हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा हेटौँडा–७ ले हेटौँडा–१ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । हेटौँडा–७ का रोशन दोङ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले पनि नगद दुई हजार रुपैयाँसहित ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत फाइनल खेल भोलि बिहीबार हुने नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो । मेयर कप फुटबल प्रतियोगिताको विजेता टिमले उपाधिसहित नगद दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछ ।