हेटौँडा: बागमती प्रदेश स्थानीय वन संवाद कार्यक्रम हेटौँडामा आयोजना गरिएको छ । मंगलबार एकदिने कार्यक्रममा वनसम्बन्धी विविध विषयमा संवाद गरिएको छ । ग्रीन फाउण्डेसन नेपालको आयोजनामा विभिन्न सरोकारवाला निकायको समेत सहकार्यमा आयोजित वन संवादमा रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले जलवायु परिवर्तन र रेड कार्यान्वयन, राष्ट्रिय वनको एकीकृत कार्ययोजना–२०८१, सामुदायिक वनको मार्गदर्शन–२०८१ का विषयमा प्रस्तुती गर्नु भएको छ ।
यस्तै संघीय सरकारको वन तथा वातावरण मन्त्रालयका पूर्वसहसचिव एवम् वनविज्ञ सिन्धुप्रसाद ढुंगानाले दीगो वन व्यवस्थापनको मापदण्ड–२०८१ को विषयमा प्रस्तुती राख्नु भएको छ । पारिवारिक निजी वन संघका राष्ट्रिय अध्यक्ष जोगराज गिरीले पारिवारिक निजी वनको सम्भावना र चुनौतिका विषयमा प्रस्तुती राख्नुहुनेछ भने ग्रीन फाउण्डेसनका अध्यक्ष घनश्याम पाण्डेले कृषि वन उद्यम विकासको सम्भावनाका विषयमा प्रस्तुती राख्नुभयो । स्थानीय वन संवाद कार्यक्रममा बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, बागमती प्रदेश सभा सदस्य भारती पाठक, आनन्द श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका सचिव केदार घिमिरेको पनि सहभागिता रहेको थियो ।
संवादमा प्रदेश सरकारको वन निर्देशनालय, डिभिजनल वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ, आदिवासी जनजाति महासंघका प्रतिनिधि, उद्यमी समूहका प्रतिनिधिको सहभागिता रहेको छ । बागमती प्रदेश सरकारले वन ऐन संशोधनको प्रक्रियामा रहेकोले संवादको आयोजना गरिएको ग्रीन फाउण्डेशनका कार्यक्रम अधिकृत अरविन पौडेलले जानकारी दिनुभयो ।











