हेटौँडा : मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकामा सोमबार साँझ बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

सोमबार साँझ ७ बजेको समयमा गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बसको ठक्करबाट ४० वर्षीय कृष्ण बलामी र ४० वर्षीय लोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै बसको ठक्करबाट घाइते भएका ३६ वर्षीय रघुनन्दन यादव, ३६ वर्षीय कमलेश कुमार साहको अवस्था गम्भीर रहेको र उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।

बसको ठक्करबाट बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङदोर्जे लामा र बारा जिल्लाको कोहल्बी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । प्रहरीले बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।