हेटौँडा : हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी पाँचौं हेटौंडा मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा हेटौँडा–७ र ८ विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा हेटौँडा–७ ले हेटौँडा–२ लाई १–० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको अन्त्यतिर कुशल अधिकारीले गरेको गोल नै निर्णायक बनेको थियो । उत्कृष्ट प्रदर्शन गरेबापत अधिकारी ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद २ हजार र ट्रफी प्राप्त गरेका छन् ।

शुक्रबारको दोस्रो खेलमा हेटौँडा–८ ले हेटौँडा–९ लाई ४–० गोलअन्तरले पराजित गरेको हो । टोलीका दिपेश थोकरले दुई गोल गर्दा विकास देउला र विजय विकले एक–एक गोल गरेका थिए । खेलमा प्रभावशाली प्रदर्शन गरेका सुहन थिङ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले पनि नगद २ हजार र ट्रफी प्राप्त गरेका छन् । आयोजक समितिका अध्यक्ष रविन्द्र घिमिरेका अनुसार शनिबार हेटौँडा–१ र हेटौँडा–६ तथा हेटौँडा–१७ र हेटौँडा–१८ बीच खेल हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख पाउनेछ ।