हेटौँडा : महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । मंगलबार बिहान हेटौँडा–१०, मेनरोडस्थित बैंकको कार्यालय परिसरमा भएको कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । मकवानपुरमा जेठ महिनाकै पहिलो रक्तदान कार्यक्रमको रुपमा महालक्ष्मी विकास बैंकको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
बैंकले अनौपचारिकरुपमा रक्तदान कार्यक्रम गरेको जनाएको छ । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाले प्राविधिक सहयोग गरेको हो । रक्तसञ्चार केन्द्र हेटौँडामा अहिले रगतको माग र वितरण सन्तुलित रहेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो । आगामी शुक्रबार हेटौँडा–१ स्थित मकवानपुर सहकारी अस्पतालले पनि रक्तदान कार्यक्रम आयोजना गर्दैछ । विभिन्न संघ, संस्थाले वार्षिकोत्सव, स्थापना दिवस जस्ता अवसरमा आयोजना गर्ने रक्तदान कार्यक्रम नै रगत संकलन गर्ने प्रमुख अवसर हो । यसका साथै रक्तसञ्चार केन्द्र हेटौँडाले रगत आवश्यक हुँदा रक्तदातालाई बोलाएर समेत रगत संकलन गरी आवश्यकता परेकालाई उपलब्ध गराउने गरेको छ ।











