हेटौँडा : हेटौँडा–काठमाडौं त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदीमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार दिउँसो १ बजेको समयमा भीमफेदी गाउँपालिका–९, छैसठ्ठी मोडमा यात्रुवाहक विङ्गर गाडी दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट २० मिटर तल खसेको थियो । ब्रेक फेल भएर दुर्घटनाग्रस्त गाडी सल्लाको रुखमा अड्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । घाइतेहरुको उद्दार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।











