सांकेतिक तस्वीर ।

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–४, कर्रामा मोटरसाइकल, अटो र ट्रक ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजेको समयमा हेटौँडा बजारबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना ५३ प १२७४ नम्बरको मोटरसाइकल, पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको अटो र ना ६ ख १३७ नम्बरको १२ चक्के खाली ट्रकले ठक्कर दिई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार हेटौँडा–१२, पदमपोखरीका ५८ वर्षीय सिताराम बिकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । दुर्घटनामा परी सितारामका छोरा मोटरसाइकल चालक ३१ वर्षीय राज बिक घाइते भएका छन् । राजको दाहिने हात र शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी ढाड र कम्मरमा चोट लागेर गम्भीर घाइते भएका सितारामको उपचारको क्रममा हेटौँडा अस्पतालमा साँझ ७ बजेर १२ मिनेटको समयमा मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालक तनहुँ जिल्लाको व्यास नगरपालिका–५, चाँपाघाटका ३७ वर्षीय सरोज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अटो र अटो चालकको खोजी कार्य गरिरहेको जनाएको छ ।