प्रहरीले नियन्त्रणमा लिएको बढी लोड ढुवानी गर्ने ट्रिपर ।

हेटौंडाः स्वीकृतभन्दा बढी तौलको ढुवानी गर्ने ट्रिपरलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । शुक्रबार र शनिबार दुई दिनमा ट्राफिक प्रहरीले १३ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ ।

१७ टन लोड ढुवानी गर्ने अनुमति पाएका ट्रिपरले ५ देखि १० टनसम्म बढी लोड ढुवानी गरेको पाइएपछि ट्रिपरलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव निरीक्षक हरिबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । हेटौंडा–११, थानाभर्‍याङस्थित तौलपुलमा तौल गर्दा बढी तौल ढुवानी गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो । बीरगन्जबाट कोइला लोड गरी ल्याएका ५ वटा ट्रिपर र बिर्तामोडबाट जिप्सन लोड गरी ल्याएका ८ वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रिपरलाई हेटौंडा–११, थानाभ¥याङस्थित यातायात व्यवस्था कार्यालयमा पठाइएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।